दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन्। ढकमक्क फुलेका फूलले बारीको शोभा बढाए पनि किसानको मनमा भने बजारको चिन्ता छ। तिहार आउनुअगावै फूल फक्रिएपछि बिक्री हुने हो कि होइन भन्ने अन्योल बढेको छ। तिहारमा सयपत्रीको माग उच्च हुने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर खेती गरेका थिए। तर, यस वर्ष तिहार ढिलो परेकाले फूल दसैँलगत्तै फक्रिन थालेको छ। “गत वर्ष तिहार छिटो परेको थियो। फूल पनि राम्ररी बिक्री भयो। मागअनुसार पुर्याउनै सकेनौँ”, चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहकी अध्यक्ष जितमाया रानाले भने, “यसपटक तिहार ढिलो छ। फूल भने दसैँलगत्तै फक्रिन थालेको छ। एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ।” जितमायाको चिन्ता समूहमा आबद्ध २३ जना किसानकै साझा समस्या हो। गत वर्षको राम्रो आम्दानी र बजारको मागबाट उत्साहित किसानले यस वर्ष फूलखेतीको क्षेत्रफल झन्डै तीन गुणा बढाएका छन्। तर, उत्पादन बढेसँगै बिक्रीको अनिश्चितता पनि थपिएको छ। छिम्लीश्वाराका किसानले यसअघि बारीमा मकै, मास र बोडी लगाउँथे। मिहिनेत धेरै गर्नुपर्ने तर आम्दानी कम हुने भएपछि उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री खेती सुरु गरेका हुन्। मकै, मास छाडेर फूलखेती विदेशबाट फूल आयात भइरहेको देखेपछि आफ्नै ठाउँमा उत्पादन गरेर स्थानीय बजारको माग पूरा गर्ने र किसानको आम्दानी बढाउने उनीहरूको उद्देश्य थियो। पहिलो वर्ष नै राम्रो बजार पाएपछि यस वर्ष खेती विस्तार गरिएको अध्यक्ष रानाले बताए। गत वर्ष छ रोपनीमा सयपत्री लगाएका किसानले यस वर्ष १६ रोपनीमा खेती गरेका छन्। गत वर्ष प्रतिकिलो तीन सय रुपैयाँका दरले फूल बिक्री गरेर समूहले चार लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो। मागअनुसार फूल पुर्याउन नसकेपछि यसपटक १५ लाख रुपैयाँ बराबरको फूल बिक्री गर्ने लक्ष्य राखिएको छ। “गत वर्ष माग धेरै थियो, फूल पुर्याउन सकेनौँ। त्यसैले यसपटक खेती बढाएका हौँ”, रानाले भने, “तर यस वर्ष तिहार ढिलो भएकाले फूलको बजार कस्तो हुन्छ भन्ने अन्योल छ।” बजार मूल्यमा किसानको पहुँच कमजोर उत्पादन बढाउनुका साथै किसानलाई अर्को चुनौती उचित मूल्य पाउनु पनि हो। गत वर्ष प्रतिकिलो तीन सय रुपैयाँमा व्यापारीलाई फूल बिक्री गरेका किसानले उपभोक्तासम्म पुग्दा मूल्य बढ्ने गरेको अनुभव सुनाएका छन्। “फूलको मूल्य कति राख्ने भन्ने हामीलाई थाहा थिएन। प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गर्यौँ। हामीसँग फूल किनेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बेच्नुभयो”, अध्यक्ष रानाले भने, “किसान र उपभोक्ताबीच सीधै खरिद–बिक्री हुन सके किसानले राम्रो मूल्य पाउँथे, उपभोक्ताले पनि सहज रूपमा फूल पाउन सक्थे।” किसानले स्थानीय तहसँग व्यवस्थित हाटबजार वा बिक्री केन्द्रको व्यवस्था गर्न माग गरेका छन्। त्यसले बिचौलियामाथिको निर्भरता घटाउनुका साथै किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने उनीहरूको अपेक्षा छ। समूहकी कोषाध्यक्ष सन्सरी रानाका अनुसार परम्परागत खेतीबाट कम आम्दानी भएपछि फूलखेती रोजिएको हो। गत वर्षको आम्दानीले उत्साहित भएर खेती विस्तार गरे पनि यसपटक फूल छिटो फुलेपछि बजार र मूल्यको चिन्ता थपिएको उनी बताउँछन्। समूहकी सदस्य विसरा रानालाई पनि फूलको समयभन्दा अगाडि फक्रिएको र वर्षाको सम्भावनाले चिन्तित बनाएको छ। वर्षा भए फूलको गुणस्तर र बिक्रीमा असर पर्न सक्ने उनको भनाइ छ। छिम्लीश्वाराका २३ महिलाले सामूहिक रूपमा सुरु गरेको फूलखेती स्थानीय उत्पादन र महिला उद्यमशीलताको उदाहरण बनेको छ। तर, उत्पादन बढाएर मात्र किसानको आम्दानी सुनिश्चित हुँदैन। उत्पादित फूल समयमै बजारसम्म पुर्याउने व्यवस्था, उचित मूल्य निर्धारण र किसान तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क आवश्यक छ। अहिले बारीमा सयपत्री ढकमक्क फुलेका छन्। किसानको लगानी र मेहनत फूल बनेर फक्रिएको छ। त्यसले आम्दानीको रूप लिने वा बजार अभावमा ओइलाउने भन्ने टुङ्गो भने तिहारको बजारले लगाउनेछ।
बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






