काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध तेस्रो जित निकालेपछि चितवन राइनोजका ब्याटर डेविड मालनले बलरका लागि धेरै नै अनुकूल पिच हुँदा ब्याटिङ कठिन भएको बताएका छन्। उनले टी–२० क्रिकेट मनोरञ्जनको माध्यम बन्न रन बन्नु आवश्यक रहेको बताए। जनकपुरले दिएको ८९ रनको झिनो लक्ष्य पछ्याउँदा चितवनलाई पनि संघर्ष गर्नुपरेपछि पत्रकार सम्मेलनमा मालनले टी–२० क्रिकेटमा रन नबन्दा खेलको मनोरञ्जन कम हुने बताए। उनका अनुसार बलरलाई धेरै नै सहयोग गर्ने पिच हुनु राम्रो होइन। “टी–२० क्रिकेट विश्वभर मनोरञ्जनको माध्यम बनेको छ। त्यसका लागि रन बन्नुपर्छ। बलरका लागि यति धेरै सहयोगी पिच हुनु राम्रो होइन,” मालनले भने। यद्यपि, हरेक खेलमा यस्तै पिच नहुने उनको भनाइ छ। उनले पिच निकै असहज भएकाले आफूले टस जितेको भए पनि पहिले ब्याटिङ नगर्ने बताए। जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि ८८ रनमै सीमित भएको थियो। ब्याटिङ गर्न सहज नभएपछि धैर्य गरेर खेल्नुको विकल्प नरहेको मालनले बताए। उनले आफ्नो भूमिका राम्रो क्रिकेट खेल्नु रहेको र त्यसैमा केन्द्रित रहेको उल्लेख गरे। गत सिजन चितवन प्लेअफमा पुग्न नसके पनि यसपटक टोली राम्रो रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरे। यता जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारायण चन्द्रपलले बलिङ राम्रो भए पनि ब्याटिङमा खराब प्रदर्शन गर्दा टोलीले हार बेहोर्नुपरेको बताए। उनले क्याच लिन सकेको भए खेल जित्न सकिने अवस्था रहेको उल्लेख गर्दै मालनको क्याच छोड्नु टोलीका लागि महँगो परेको बताए। उनका अनुसार घरेलु खेलाडीले अपेक्षाअनुसार राम्रो क्रिकेट खेल्न नसक्दा यस सिजन पनि टोलीले खराब नतिजा बेहोर्नुपरेको हो। चन्द्रपलले केही खेलाडीले गल्ती देखाउँदा पनि त्यसलाई सुधार गर्न नसकेको आरोपसमेत लगाए। – न्युज एजेन्सी नेपाल
बलरका लागि धेरै नै अनुकूल पिच भयो : चितवनका मालन

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



-ssss.jpg)


