काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशले आजदेखि प्रदेशस्तरीय छनोट प्रक्रिया सुरु गरेको छ। दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने ३२ खेल विधिमध्ये मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने भएको छ। मधेस प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापक गरी ७०९ जनाको टोली प्रतियोगितामा सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानूले जानकारी दिए। प्रतियोगिताको औपचारिक सुरुवात केही विधामा मंसिर ८ गतेदेखि हुने र मुख्य प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तयारी छ। पत्रकार सम्मेलनमा प्रदेशका खेलकुद पदाधिकारीले बजेट अभाव र प्रदेश सरकारको अस्थिरताका कारण प्रतियोगिताको तयारीमा चुनौती थपिएको बताए। बजेटको ५० प्रतिशत रोक्का तथा कटौती गरिएको अवस्थामा सीमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने अवस्था रहेको सदस्यसचिव कानूले बताए। कठिनाइका बाबजुद खेलाडीको उत्साह तथा विभिन्न खेल सङ्घसँगको समन्वयमा छनोट प्रक्रिया अघि बढाइएको उनले बताए। मधेस प्रदेशमा कबड्डी, भलिबल, कराँते, तेक्वान्दो र क्रिकेटलगायतका खेलमा पदक जित्ने राम्रो सम्भावना रहेको उनको दाबी छ। विशेषगरी प्रदेशको मौलिक खेलका रूपमा रहेको कुस्तीमा मधेसले राष्ट्रियस्तरमै उल्लेखनीय सफलता हासिल गर्न सक्ने उनले बताए। खेलकुदमा प्रदेश सरकारले पर्याप्त लगानी गर्न सके मधेसले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सक्ने उनको भनाइ छ। खेलकुदले विभिन्न राजनीतिक तथा वैचारिक पृष्ठभूमिका व्यक्तिलाई एउटै मञ्चमा जोड्नुका साथै प्रदेशको पहिचान स्थापित गर्ने अवसरसमेत दिने उनले बताए। ‘खेल मधेस, जित मधेस’ भन्ने नारासहित अघि बढेको प्रदेशले आर्थिक वर्ष २०८२/८३ मा अन्य प्रदेशको तुलनामा धेरै खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना गरेको दाबीसमेत गरेको छ। प्रतियोगिताका लागि खेलाडी छनोट र सहभागितामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै सम्भावना बोकेका खेलाडीलाई पालिकास्तरबाटै छनोट प्रक्रियामा सहभागी गराउन आग्रह गरिएको छ। खेलाडीको मनोबल उच्च राख्न तथा प्रदेशको प्रतिष्ठासँग जोडिएको प्रतियोगितामा सफल नतिजा हासिल गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ। –न्युज एजेन्सी नेपाल
बजेट अभावबीच दशौँ राष्ट्रिय खेलकुदमा मधेसका ७०९ खेलाडी सहभागी हुने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



-ssss.jpg)


