काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा उल्लेखनीय मौसमी प्रभाव नपार्ने मौसमविद्ले बताउनुभएको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले उक्त प्रणाली गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा वर्षा तथा मौसमको गतिविधि बढाउने सम्भावना नरहेको बताउनुभएको हो । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीबाट नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने अवस्था नदेखिएको जानकारी दिनुभयो । विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशाबारे निरन्तर निगरानी गरिरहेको उहाँले बताउनुभयो । प्रणालीको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पार्ने अवस्था सिर्जना भए आवश्यक जानकारी गराइने उहाँको भनाइ छ । मौसमविद् ढकालका अनुसार आइतबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने उहाँले बताउनुभयो । यद्यपि, ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ । त्यस्तै, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । उहाँका अनुसार आइतबार बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्दै जानेछन् । आगामी दुई दिन वर्षाको गतिविधि न्यून रहने तथा त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उहाँले जानकारी दिनुभयो । किसानलाई मौसम पूर्वानुमान हेरेर धान काट्न सुझाव मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले किसानलाई मौसम पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्य गर्न सुझाव दिनुभएको छ । आइतबार दिउँसो हुन सक्ने वर्षाले काटेर राखिएको धानमा असर पार्न सक्ने भए पनि खेतमै रहेको नकाटिएको धानबालीमा भने खासै असर नपर्ने उहाँले बताउनुभयो । कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउँदा आगामी दिनको मौसम अवस्थाबारे जानकारी लिएर काम गर्न उहाँले किसान तथा सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
बंगालको खाडीको न्यूनचापीय प्रणालीले नेपालमा कस्ताे असर गर्ला ? के भन्छन् मौसमविद् ?

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






