कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ। पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए । आधुनिकताको प्रभावले देउसीभैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहार र संस्कृतिबारे प्रत्यक्ष जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सांस्कृतिक उत्सव प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ । उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका प्रदर्शनी कक्षसमेत राखिने जानकारी दिँदै उनले यसबाट तिहारको सांस्कृतिक तथा खानपानको परम्परालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्ने बताए । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुने उत्सवले पर्यटकलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । हिमाल, ताल र प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभवसमेत पर्यटकलाई गराउन सके पोखराको पर्यटन थप विविधतायुक्त बन्ने पर्यटन व्यवसायीको विश्वास छ । पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार उत्सवमा विभिन्न जातजातिका १० समूहले आआफ्नो मौलिक वेशभूषा, परम्परागत भाका र शैलीमा देउसीभैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहको मौलिकता, परम्परागत शब्द, लय, ताल, वेशभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । पर्यटन प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नभई स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभवसमेत भएकाले यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई थप आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट समूहलाई रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरिने आयोजकले जनाएको छ ।
फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

Read Complete Original Article
Published originally on नेपालन्युज






