काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जित हात पारेपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले टोली फिल्डिङमा चुक्दा पछि परिरहेको बताएका छन्। पोखरा एभेन्जर्समाथि जितपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले टोलीले समग्रमा राम्रो खेलिरहे पनि फिल्डिङमा भएका कमजोरीका कारण समस्या भइरहेको बताए। यद्यपि, खेलाडीले उत्कृष्ट प्रयास गरिरहेको उनको भनाइ छ। विराटनगरको खेलमा भिजेको मैदानका कारण पनि केही समस्या भएको सन्दीपले बताए। तर त्यसलाई बहाना बनाउन नहुने भन्दै उनले टोलीले आफ्ना कमजोरी सुधार गर्नुपर्नेमा जोड दिए। उनले आगामी अन्तिम खेलमा राम्रो प्रदर्शन गर्दै प्लेअफमा पुग्ने विश्वास व्यक्त गरे। पोखराविरुद्धको खेलमा टोली हारको संघारमा पुगेका बेला इसुरु उडानाले उत्कृष्ट ब्याटिङ गरेको सन्दीपले बताए। आन्द्रे रसेलजस्ता खेलाडीको अभाव टोलीले महसुस गरे पनि उडानाले उनको स्थानमा राम्रो प्रदर्शन गरिरहेको उनले बताए। यसअघि विकेट प्राप्त गर्न नसकेको खेललाई स्मरण गर्दै सन्दीपले आफ्नो क्षमताप्रति भने विश्वास रहेको बताए। अघिल्लो खेलमा पनि आफूले राम्रो बलिङ गरेको तर त्यसको प्रतिफलस्वरूप विकेट भने प्राप्त हुन नसकेको उनको भनाइ थियो। –न्युज एजेन्सी नेपाल
फिल्डिङमा चुकिरहेका छौँ: सन्दीप लामिछाने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





