काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्। आईजीपी केसीले संगठनको गोपनीयता कायम राख्न कडा निर्देशन दिएका छन्। उनले संगठनभित्रका वा अनुसन्धानका सूचना चुहाउनेहरूविरुद्ध निर्मम कारबाही गरिने चेतावनी दिँदै भने, ‘संगठनको गोपनीयता हनन गर्नेलाई कुनै कसर नराखी कानुन अनुसार कारबाही गरिन्छ।’ उनले व्यक्तिको गलत कामको भारी संगठनले नबोक्ने स्पष्ट पार्दै तर कसैसँग प्रतिशोध पनि नसाँधिने बताए। करिब १५ मिनेटको सम्बोधनमा आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारीको हितलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले भने, ‘आधारभूत तहका प्रहरीलाई केन्द्रमा राखेर काम गर्न र गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र विकास गरिनेछ।’ साथै, उनले प्रहरीलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन्। सरुवा र बढुवालाई पूर्ण रूपमा पारदर्शी बनाउने घोषणा गर्दै केसीले कार्यसम्पादनको आधारमा मात्र पोस्टिङ गरिने बताए। एआईजी र डीआईजीहरूसँग सामूहिक भावनाका साथ काम गर्ने उल्लेख गर्दै उनले प्रहरीको खस्किएको मनोबल उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी

Read Complete Original Article
Published originally on नेपालन्युज




_fam6WtIhIE.jpg)

