भक्तपुर।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ। नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामो समयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए। नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो। कार जाँच गर्ने क्रममा शंकास्पद नगद रकम फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको हो। उक्त कारबाट ३३ लाख बरामद भएको थियो। सो रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसवापत लिई व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा रहने व्यवस्था छ। उनले नगरपालिकाको दैनिक प्रशासन सञ्चालन, नगरसभा तथा कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा तथा कार्यपालिकाका निर्णय कार्यान्वयन गर्ने, कर्मचारी प्रशासन सञ्चालन गर्ने तथा आर्थिक प्रशासन र बजेट कार्यान्वयनसम्बन्धी जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ। नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, कर्मचारीबीच समन्वय गर्ने तथा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी समेत प्रमुख प्रशासकीय अधिकृतको रहने कानुनी व्यवस्था छ।
प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित

Read Complete Original Article
Published originally on नेपालन्युज






