काठमाडौं । शैक्षिक प्रमाणपत्रको वैधतामाथि विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले पदबाट राजीनामा दिएका छन्। उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन्। सन् २०२४ को निर्वाचनमा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले अमान्य ठहर गरेपछि उनी विवादमा तानिएका थिए। अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको प्रमाण फेला नपरेको जनाएको थियो। अदालतको फैसलापछि १०० भन्दा बढी सांसदले गिब्रानविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन सकिने संसदीय पहललाई समर्थन गरेका थिए। यद्यपि, गिब्रानले अदालतको निर्णयलाई चुनौती दिँदै आफ्नो शैक्षिक योग्यताको वैधता प्रमाणित गर्ने अवसर दिन माग गरेका थिए। गिब्रान सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा प्रबोवो सुबियान्तोका उपराष्ट्रपतिको उम्मेदवार बनेका थिए। उनका पिता तथा तत्कालीन राष्ट्रपति जोको विडोडो (जोकोवी) र प्रबोवोबीच बनेको राजनीतिक गठबन्धनका कारण उनले उपराष्ट्रपतिको उम्मेदवारी पाएका थिए। पछिल्लो समय राष्ट्रपति प्रबोवो र पूर्वराष्ट्रपति जोकोवीबीचको सम्बन्धमा समेत तनाव बढ्दै गएको छ। प्रबोवोले जोकोवीका प्रमुख योजनालाई प्राथमिकता नदिएको र उनीनिकट व्यक्तिहरूलाई सरकारी जिम्मेवारीबाट हटाउँदै लगेको बताइएको छ। गत साता राष्ट्रपति कार्यालयका प्रमुख लिस्तियो सिगितलाई राष्ट्रपतिको फोन ट्यापिङ गरेको आशंकामा पक्राउ गरिएको थियो। उनी जोकोवीका निकट सहयोगी मानिन्छन्। पक्राउ परेको भोलिपल्टै राष्ट्रपति प्रबोवोले उनलाई पदबाट बर्खास्त गरेका थिए।
प्रमाणपत्र विवादले गुम्यो पद, इन्डोनेसियाका उपराष्ट्रपतिले बुझाए राजीनामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






