काठमाडौं । प्रभु बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीको पद घटुवा र बढुवा रोक्ने निर्णय गरेको छ। बैंकले आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई कारबाही गरेको हो। उनलाई गत कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको बैंकले जनाएको छ। पन्त सन् २०१५ मा बिजनेस प्लानिङ अफिसरका रूपमा प्रभु बैंकमा प्रवेश गरेकी थिइन्। उनले यसअघि कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिङ अफिसरका रूपमा समेत काम गरिसकेकी छन्। सन् २०७९ मा उनलाई सरकारले सिफारिस गरेपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवाश्री सम्मान प्रदान गरेकी थिइन्। त्यस्तै, प्रभु ग्रुप इन्कले रेमिट्यान्स कारोबारका लागि पेस गरेको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियम पालना नगरेको आरोपमा सुगेन शाक्य पनि बर्खास्त भएका छन्। उक्त कार्यले बैंकलाई ठूलो वित्तीय जोखिम र कानुनी दायित्वमा पार्न सक्ने देखिएपछि उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। बैंकका अर्का कर्मचारी सुदीप श्रेष्ठलाई भने एक तह घटुवा गरिएको छ। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनधिकृत रूपमा इमेल पठाएको पाइएपछि उनलाई सहायकबाट जुनियर सहायक पदमा घटुवा गरिएको बैंकले जनाएको छ। त्यसैगरी, मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोकिएको छ। स्थापित कार्यविधि पालना नगरी कार्यगत कमजोरी देखाएको भन्दै कर्मचारी विनियमावलीअनुसार उनको बढुवा रोक्ने निर्णय गरिएको बैंक स्रोतले जनाएको छ।
प्रभु बैंककी कर्मचारी रश्मी पन्त बर्खास्त

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






