काठमाडौं। दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भेटवार्ता गरेका छन्। भ्रमणको पहिलो दिन आइतबार साँझ शिष्टाचार भेटका लागि जयशंकर होटल ताज पुगेका हुन्। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो २ बजेर ८ मिनेटमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली प्रस्थान गरेका थिए। उनी ३ बजेर १८ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। सो अवसरमा भारतीय सुरक्षा निकायले सलामी अर्पण गर्नुका साथै सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो। भ्रमणको दोस्रो दिन सोमबार राष्ट्रपति भवनमा शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले बिहान १० बजे राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। लगत्तै हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र आधा घण्टाको एक्लाएक्लै भेटवार्ता हुनेछ। बैठकपछि दुवै प्रधानमन्त्रीले अयोध्या-जनकपुरधाम रेल सेवा तथा ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको संयुक्त उद्घाटन गर्नेछन्। सोही दिन प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। भ्रमणका क्रममा संयुक्त भिजन दस्तावेज सार्वजनिक गर्ने र विभिन्न क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ। सबै औपचारिक कार्यक्रम सकेर प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालन्युज






