काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो राजकीय विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । यसैबीच, भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले आजै प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने तयारी छ । दुई देशका प्रधानमन्त्रीबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर तथा लगानी आकर्षित गर्न सरकारले अघि सारेका नीतिगत व्यवस्था र प्रयासबारे जानकारी गराउनेछन् । कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपालमा थप लगानी भित्र्याउने वातावरण निर्माणका विषयमा छलफल हुनेछ । यसले नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीलगायत सहभागी हुनेछन् । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै

Read Complete Original Article
Published originally on नेपालन्युज



.jpg)


