Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमण : तीन बैठक हुने र आर्थिक सहयोग र हवाई रुटमा सहमति गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमण : तीन बैठक हुने र आर्थिक सहयोग र हवाई रुटमा सहमति गर्ने तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यही मंसिर ६ गते भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री शाह भारतमा साढे २५ घण्टा मात्रै रहने छन । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् । त्यसबाहेक प्रधानमन्त्री शाहले अन्य बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने उच्च सरकारी स्रोतले जानकारी दियो । ६ मंसिर अपराह्न नयाँदिल्ली पुग्ने प्रधानमन्त्री शाह ‘ताजमहल होटल’ मा बस्नेछन् । त्यस दिन उनका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन । सोही साँझ उनी नेपाली राजदूतावासमा जाने सम्भावना छ, तर कार्यक्रम तय भने भइनसकेको उच्च सरकारी स्रोतले बतायो । ७ मंसिरमा प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा ‘गार्ड अफ अनर’ दिइने छ । त्यससँगै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै (वान-अन-वान) वार्ता हुने पनि स्रोतले जानकारी दियो । त्यसपछि दुई देशका प्रधानमन्त्रीले प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । दुई देशबीच हुने उद्घाटन तथा सम्झौताहरू सोही बैठक क्रममा हुने स्रोतले जानकारी दिएको छ । सोही क्रममा कुन-कुन विषयमा सम्झौता हुने भन्ने विषय अहिलेसम्म टुंगो लागिनसकेको स्रोतको भनाइ छ । भारतले नेपाललाई महेन्द्रनगरबाट आवतजावत गर्न मिल्ने गरी हवाई रुट प्रदान गर्ने सम्झौता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । यसका साथै दुई देशका प्रधानमन्त्रीले भारतको अयोध्यादेखि जनकपुर आउने रेलको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । साताको एक पटक यात्रा गर्ने गरी अयोध्या-जनकपुर रेल सञ्चालनका लागि भारतले अनुमति दिइसकेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच लामो समयदेखि थाती विषयहरू नै एजेन्डाका रूपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् । सरकारी स्रोतहरूका अनुसार प्रधानमन्त्री शाह ६ मंसिर दिउँसो १:२५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नेछन् । त्यस्तै उनी ७ मंसिर अपराह्न ४:२० बजेको नेपाल एयरलाइन्सकै नियमित उडानबाट नेपाल फर्कने पनि स्रोतले जानकारी दियो । नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । तर, त्यो घोषणा विपरीत उनी गत सेप्टेम्बर तेस्रो साता संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क गएका थिए । त्यहाँ पनि उनी महासभा सम्बोधन गरेलगत्तै फर्केका थिए । २ खर्ब भारु सहयोगबारे सहमति नजिक नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणसहित गरेर २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग दिन भारत सकारात्मक रहेको स्रोतहरूले जनाएका छन् । त्यसमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र थप १ खर्ब भारु अनुदानको हिस्सा रहने छ ।‘यसमा ठोस जवाफ आइसकेको छैन, तर १ खर्ब ऋण र १ खर्ब अनुदान गरी २ खर्ब भारु सहयोग दिन सम्भवत: भारत सहमत हुनेछ,’ स्रोतले भन्यो । १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना नेपालको छ । त्यस्तै बुटवल-पोखरा एक्सप्रेसवे बनाउन ५० अर्ब भारु प्रस्ताव नेपालले गरेको छ । हवाई रुट र एयरस्पेस दिन पनि भारत सहमत नेपालले लामो समयदेखि मागिरहेको हवाई रुट र एयरस्पेस दिन पनि भारत सहमत भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । हाल बाहिरबाट नेपाल प्रवेश गर्ने जहाजहरू सिमराबाट मात्रै नेपाल इन्ट्री गर्न पाउँछन् । त्यसले गर्दा भैरहवा र पोखराजस्ता अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाइ भएको भन्दै नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा तथा जनकपुरबाट जहाजहरू आवतजावत गर्न पाउने गरी अनुमति दिन भारतलाई अनुरोध गरिरहेको थियो । यसमध्ये सीमित ठाउँबाट हवाई रुट दिन तथा भैरहवा विमानस्थलबाट भारततर्फको क्षेत्रमा एयरस्पेस उपलब्ध गराउन भारत सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ । भारतका केही सहरबाट पोखरा विमानस्थलमा सिधै हवाई उडान गर्नेबारे पनि सहमति हुन सक्ने स्रोतको भनाइ छ । ‘भारत महेन्द्रनगरबाट ३९ हजार फिटमा जहाज भित्रन (इन्ट्री गर्न) पाउने गरी रुट प्रदान गर्न सहमत भएको छ, यसका साथै भैरहवा विमानस्थलमा जहाज उडान अवतरण गर्दा भारतीय एयरस्पेस प्रयोग गर्नुपर्ने हुन्छ, त्यो प्रयोगको अनुमति दिन पनि भारत सहमत भएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘त्यस्तो अनुमति दिँदा उसले रक्सौल र बागडोग्रा क्षेत्रमा नेपालतर्फको एयरस्पेस पनि मागेको छ ।’ भारतले रक्सौलमा रहेको पुरानो एयरपोर्ट पुनर्निमाण गरी ठूलो आकारमा निर्माण गरिरहेको छ । त्यस एयरपोर्टमा उडान-अवतरण गर्दा नेपालको आकाश प्रयोग गर्नुपर्ने भएकाले उसले एयरस्पेस मागेको स्रोतको भनाइ छ । त्यस्तै भारतको सिलिगुडी नजिकै बागडोग्रामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै छ । सोही एअरपोर्टको धावनमार्ग दुवैतर्फबाट उडान-अवतरण गर्ने हो भने नेपालको आकाश पनि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँ पनि उसले एयरस्पेस मागेको परराष्ट्र स्रोतले बतायो ।‘तर, यी विषय अहिले वार्ताका क्रममा छन्, नेपालले दिने सहमति भइसकेको छैन,’ स्रोतले भन्यो । नेपाल र भारतबीच अयोध्या र जनकपुरबीच सिधा हवाई उडान गर्नेबारे पनि सहमति भएको परराष्ट्र स्रोतले बतायो । भारतका केही सहरबाट पोखरा विमानस्थलमा सिधै उडान गर्नेबारे पनि सहमति हुन सक्ने स्रोतको भनाइ छ । यसअतिरिक्त रक्सौल-काठमाडौं रेलमार्ग निर्माण, अयोध्या-जनकपुर रेल सञ्चालन एवं क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणबारे पनि सम्झौता हुने सम्भावना छ । महाकाली सन्धि भएको ३० वर्षसम्म टुंगिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण अघि बढाउन नेपालले जोड दिइरहेको छ । तर, यसमा बृहत् राजनीतिक सहमति आवश्यक रहेको भारतको भनाइ रहेको स्रोतले बतायो । यो परियोजनाबारे ठोस उपलब्धि हुन गाह्रो रहेको स्रोतको भनाइ छ । माथिल्लो तामाकोशी लगायत चिनियाँ ठेकेदार संलग्न परियोजनाको विद्युत् पनि भारतले आयात गर्नुपर्ने, बंगलादेशमा थप विद्युत् निर्यात सहजीकरण गरिदिनुपर्ने, महाकाली तेस्रो सिँचाइ आयोजनामा भारतले १० क्युसेक पानी छोडिदिनुपर्ने लगायत एजेन्डा पनि नेपालले तय गरेका छ । महाकाली तेस्रो सिँचाइ परियोजना निर्माण सम्पन्न भएपछि भारतले टनकपुर बाँधबाट पानी नछाडिदिँदा सञ्चालनमा आउन सकेको छैन । यो परियोजनामा पानी दिन भारत सहमत भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । सोही कारण ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्रीको टिममा समावेश भएका छन् । प्रधानमन्त्री शाहसँग ऊर्जामन्त्री श्रेष्ठसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री खड्कराज पौडेल लगायत पनि भारत जाँदैछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सुरक्षाका बहुआयाम
Latest NewsJust now

सडक सुरक्षाका बहुआयाम

यातायातका माध्यम जुनसुकै प्रयोग गरे पनि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सुरक्षा हो । दिनहुँ जसो भइरहने दुर्घटनामा कैयौँले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । कैयौँका अङ्गभङ्ग भए... ...

गोरखापत्र
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
Latest NewsJust now

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले... ...

रातोपाटी
साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी
Latest NewsJust now

साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी

साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार ...

फरकधार
विद्युत् आयोजनाको पुनर्निर्माण
Latest NewsJust now

विद्युत् आयोजनाको पुनर्निर्माण

गत भदौ १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी हिमबाढी र पहिरोले ठुलो जनधनको क्षति भयो । यसले नदीकिनारमा बनेका र बन्दै गरेका विद्युत् आयोजनाका बाँध, इन्टेक, सुरुङ, पावरहाउस, पहुँचम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play