काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँ पहिलो पटक छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । त्यस्तै, उहाँले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षसँगै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नुहुनेछ। यसअघि आजै भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । दुई देशका नेतृत्वबीच आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ। त्यस क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने जनाइएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नुहुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकारहरू सुन्नुका साथै नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासहरू प्रस्तुत गरिनेछ। यसले नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकारहरू सहभागी हुनेछन् । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदै, मोदीसँग सोमबार द्विपक्षीय वार्ता हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






