काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको शुभकामना दिँदै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो रहेको बताएका छन् । ‘म्हः अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले भनेका छन्, ‘यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।’ उनले आजैका दिन भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइने तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने गरिएको पनि स्मरण गरेका छन् । उनले भनेका छन्, ‘हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ। हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्।’उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
प्रधानमन्त्रीद्वारा नेपाल सम्वत्को शुभकामनाः मौलिक समयचक्र र पहिचान, आत्मशुद्धि र चेतनाबोधको पर्व

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






