काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अडियाे प्रकरणमा जवाफदेही हुनुपर्ने व्यक्ति पार्टी सभापति गगन थापा हुन् कि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन भन्दै प्रश्न गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अनुसन्धानका क्रममा बरामद गरिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको भन्ने विषयमा गम्भीर प्रश्न उठाएका हुन्। उनले उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नको जवाफ मागेका छन्। अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा कसरी पुग्यो भन्ने उनको प्रश्न छ। पौडेलले मोबाइल कसको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा राखियो, त्यसमा के प्रयोजनका लागि पहुँच राखियो र प्रधानमन्त्री तथा उनको सचिवालयको इनम सापकोटासँग कस्तो सम्बन्ध थियो भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाको स्मरण गराउँदै आफूहरूमाथि राजनीतिक आक्रमण गरेर प्रकरणलाई अन्यत्र मोड्न खोजिएको आरोपसमेत लगाएका छन्। यसैबीच, पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको हो कि भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै पौडेलले विधिको शासन भएको भए गिरफ्तारीको कारण, अपराध र कानुनी आधार स्पष्ट हुनुपर्ने बताएका छन्। ‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’ भन्दै उनले प्रश्न गरेका छन्।
प्रदीप पौडेलको प्रश्न- अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति गगन हुन् कि कुमार बेन ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






