काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। आज सम्पन्न आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव तीन ओभरमा सब विकेट गुमाएर एक सय ५४ रन बनायो। दुई सय १७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले। उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए। कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे। महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए। बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। यस्तै मार्क वाटले एक विकेट लिए। जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए। बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले तीन, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई–दुई विकेट लिए।
पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






