काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापति पदबाट नहटाइएको र आफूले महाधिवेशन पनि नगराएको बताउनुभएको छ। शनिबार नेपाली कांग्रेसको देउवा पक्षीय १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीको नियमित महाधिवेशन सम्पन्न भएपछि मात्रै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउन आफूले आग्रह गरेको बताउनुभयो। देउवाले विशेष महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौं जिल्लाको यो अधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ। विशेष महाधिवेशनका सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन हुँदा सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो र उहाँले नै गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ विशेष महाधिवेशनको समर्थक हुनुहुन्थ्यो।’ देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशनलाई विस्थापन गर्न नहुने धारणा राखेको बताउनुभयो। उहाँले गगन थापालाई नियमित महाधिवेशनको प्रक्रिया सुरु गरेर सहमतिअनुसार मिति तय गर्न सुझाव दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘त्यतिबेला सभापति म थिएँ। मैले विशेष महाधिवेशनलाई पनि विस्थापन गर्नुहुँदैन भनेको थिएँ। मैले गगनजीलाई नियमित महाधिवेशन सुरु गरौँ, सल्लाहअनुसार मिति तोकेर काम अगाडि बढाउनुस् भनेको थिएँ। कार्यभार सम्हाल्ने विषयमा पनि कुरा गर्नुस्, यस्तो नगरौँ भनेको थिएँ। तर विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो।’ आफूलाई सभापति पदबाट हटाइएको कुनै निर्णय नभएको र आफूले पनि महाधिवेशन नगराएको भन्दै देउवाले विशेष महाधिवेशनको प्रक्रियाविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टी सभापति म छु, मलाई हटाइएको पनि छैन र मैले महाधिवेशन गराएको पनि छैन। त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ।’ देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषय सार्वजनिक रूपमा बताएको दाबीसमेत गर्नुभयो। उहाँले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको प्रसंग उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी खरिद गर्न खोजिएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘इलाम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र? त्यो पैसा दिएर अब पार्टी किनिदियो। पैसामा पार्टी बेचिदिने अब हामीले?’ उहाँले पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवादमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्दै आफूहरू कानुनी प्रक्रियाबाटै अघि बढ्ने संकेत गर्नुभएको छ।
‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले ?’- पूर्वप्रधानमन्त्री देउवा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






