काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आङ्गिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ। विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो। राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षा खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति उल्लेख छ। सोही नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणअनुसार पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य थालिएको हो। आयोगका अध्यक्ष प्रा.डा. खड्क बहादुर के.सी. का अनुसार यस रूपान्तरण प्रक्रियामा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्ने, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता अभिवृद्धि गर्ने तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रगति विवरणमा भनेको छ, “अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा लैजाने प्रक्रिया अगाडि बढिसकेको छ।”
पृथ्वीनारायण क्याम्पसलाई डिग्री उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






