काठमाडौं । पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शीघ्र न्यायिक निरूपणको माग गरेका छन् । समर्थकहरूले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल टुंग्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था भए पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको भनाइ छ । न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूले शीघ्र सुनुवाइ र न्याय निरूपणको माग गरेका छन् । ज्ञापनपत्र बुझाउने क्रममा समर्थक रामअशिष दासले लामो समयसम्म मुद्दाको किनारा नलाग्नुले आफ्नो नेताको जीवन नै समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका जन्माएको बताउनुभयो । उहाँले न्यायिक प्रक्रियालाई तीव्रता दिई साहको मुद्दा छिटो टुंग्याउन आग्रह गर्नुभयो । समर्थकहरूले साहको मुद्दासँगै अदालतमा वर्षौंदेखि विचाराधीन अन्य मुद्दाहरूको समेत शीघ्र सुनुवाइ र फैसला गर्न माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम टुंगो लगाउने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ । त्यस्तै, खुला इजलासमा हुने सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् । यसबाट न्यायिक प्रक्रियामा पारदर्शिता बढ्नुका साथै नागरिकले अदालतका कामकारबाही प्रत्यक्ष अवलोकन गर्न पाउने उनीहरूको तर्क छ । ज्ञापनपत्रमा फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणका क्रममा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई महत्त्व दिनुपर्ने मागसमेत गरिएको छ । साथै, झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । समर्थकहरूले न्यायमा हुने ढिलाइ अन्त्य गर्दै पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि विचाराधीन मुद्दाहरूको निष्पक्ष र शीघ्र निरूपण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पूर्वमन्त्री संजय साहको मुद्दा शीघ्र टुंग्याउन समर्थकहरूको माग, प्रशासनलाई बुझाए ज्ञापनपत्र

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





