काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जलि जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै बेला अख्तियारले मंगलबार उनीविरुद्ध नयाँ मुद्दा अघि बढाएको हो । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टाका नाममा बिक्री गर्न अनुमति दिएको आरोपमा नेपाललाई प्रतिवादी बनाइएको छ । इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको मूल्यवान् जग्गा बिक्री गर्न अनुमति दिई त्यसको सट्टामा दुर्गम क्षेत्रमा रहेको जग्गा लिन तत्कालीन सरकारले निर्णय गरेको थियो । २०६६ सालमा तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गा सट्टापट्टा गर्न अनुमति दिएको आरोप छ । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध नयाँ मुद्दा अदालतमा आएको पुष्टि गरेकी छन् । उनका अनुसार अहिले मुद्दाको कागजात रुजु गर्ने काम भइरहेको छ । यसअघि पनि नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





