Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन
Photo / Coverage: हिमालय टाइम्स

नियात्राकार हरिप्रसाद उप्रेती कानुन व्यवसायका क्षेत्रका एक अब्बल एवं अध्ययनशील, विज्ञ व्यावसायी हुन् । कानुन व्यवसायको क्षेत्रमा उनको विषय-विज्ञता सम्पूर्ण न्यायिक क्षेत्रका लागि नै विश्वासिलो एवं विशिष्ट रहेको महसुस हुन्छ । हरिप्रसाद उप्रेतीले नियात्रा विधाका दुइटा कृति प्रकाशित गरेका छन् । पहिलो नियात्रा कृति २०८० सालमा ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा प्रकाशित भएको छ । त्यस कृतिले उप्रेतीको नियात्रा विधामा उनको लेखकीय वैशिष्ट्य स्थापित भइसकेको छ । उप्रेतीको दोस्रो नियात्रासङ्ग्रह पनि अमेरिकाकै हो । उनी २०८० साल असारमा अमेरिकाको दोस्रो भ्रमणमा निस्किए र तीन महिना उता बसे । स्वदेश फर्कंदा उता घुमेडुलेका ठाउँका स्मृति चित्रहरू, भेटिएका नयाँ मान्छेका स्मृतिबिम्बहरू अनि पाइलैपिच्छे आफूले गरेका नयाँ अनुभव र अनुभूतिका परिकार पनि लिएर आए । तिनै दृश्य, बिम्ब र अनुभूतिको लेखकीय सौगात हो, ‘अलोहा’ । ‘अलोहा’को प्रकाशन २०८२ साल भदौमा भएको हो । नेपाली पाठकलाई ‘अलोहा’ नयाँ शब्द हो । यसको अर्थ ‘सहृदयी स्वागत, मित्रता, समादर, करुणा, भेट र बिदाइको हार्दिकतापूर्ण सम्बोधन जनाउने शब्द’ भनेका छन् लेखकले । विशेषतः अमेरिकाको हवाई द्विपको स्थानीय जनबोलीमा लोकप्रिय रहेछ ‘अलोहा’ । हवाइ द्विपको स्थानीय भाषामा ‘अलोहा’ एक अर्कोमा मनको शुभकामना, हार्दिकता, आत्मीयता, प्रशन्नता बाँड्ने, प्रकट गर्ने शब्द रहेछ भनेर बुझ्न सकिन्छ । उप्रेतीलाई यस शब्दको भावार्थ प्रिय लाग्यो अनि नियात्रा कृतिको शीर्षकमै सम्मानित भयो ‘अलोहा’ शब्द । यो पुस्तक पढेर कोही पनि नेपाली हवाइ पुग्यो भने उसले त्यहाँको स्थानीयसँग आफूलाई जोड्ने पहिलो शब्द ‘अलोहा’ हुनेछ । नियात्रा कृतिको शीर्षक नै ‘अलोहा’ राखेर नियात्राकारले हवाइवासीको परम्परागत सांस्कृतिक भाषा र हृदयलाई सम्मान गरेका छन् ।अब केही बेर ‘अलोहा’ नियात्रा कृतिको परिभ्रमण गरौं । इण्डियाना राज्यमा पर्ने फोर्टवेन भन्ने ठाउँमा छोराबुहारी (आलेक र सदीक्षा) ले घर किनेका छन् । आफूले किनेको घर देखाउने छोराबुहारीको हृदयको आग्रहलाई बुवाआमाले टार्नसक्ने कुरा थिएन । यसै सन्दर्भमा हरिप्रसाद उप्रेती दम्पती अमेरिका पुगे । नियात्रा कृतिमा दोस्रो पटकको उप्रेतीको अमेरिका यात्रा र त्यसक्रममा भएका पारिवारिक हाँसोखुशी र आत्मीयताका पलहरू मग्मगाएका छन् । दृश्यात्मक नवीनताले उत्पन्न गराएका अनुव र अनुभूति छचल्किएका छन् । ती अनुभव र अनुभूतिका तरङ्गहरूमा नियात्राकार उदात्त बग्दछन् । उप्रेती दम्पती (हरिप्रसाद उप्रेती र यशोदा उप्रेती) छोराबुहारीले ‘आफ्नो’ बनाएको घर देख्ने चाहना र आफ्नो पौरख बुवाआमालाई प्रत्यक्ष देखाउने छोराबुहारीको चाहना दुवैलाई मनमा सजाएर निस्कँदा घरको वातावरण विदामय बनेको दृश्यको वर्णन उप्रेतीले कवितामय अक्षरहरूमा बगाएका छन् । उप्रेतीको हृदयमा प्रशन्नता मडारिएको छ । कवितामय अनुभूति प्रशन्न हृदयबाटै उत्पन्न हुने हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ–टर्कीको इस्तानबुल र अमेरिकाको शिकागो विमानस्थलसम्मका सप्ठ्यारा अप्ठ्यारा अनुभवहरू सँगाल्दै जब धर्मपत्नी यशोदासहित उप्रेती छोराबुहारीले किनेको फोर्टवेनको घरमा भित्रिन्छन्, त्यस क्षणको वर्णन गर्न उनीसँग शब्दहरू छैनन् । अति प्रशन्नताको क्षण निःशब्द रहन्छ । उप्रेती फट्याङ्ग्रे (ताप्लेजुङ) देखिको आफ्नो जीवनको उकाली-ओराली, झापा-सुरुङ्गाको जीवनक्रम एवं पारिवारिक जीवनका अनेक भोगाइहरू भोग्दै छोराबुहारीले अमेरिकामा घर किनेर आफूलाई बोलाएसम्मका संयोगहरू एकपछि अर्को गरी आउँदैजाँदै गरेको स्मृतिका अन्तहीन पत्रहरू पल्टाउँदै अश्रुमय बन्दछन् । सपना पछ्याउँदै जाँदा जीवन नै सपनामय भएको छ यसबेला उप्रेतीलाई । अमेरिका प्रस्थान गर्दा सिनामंगलस्थित घरको ढोकामा पानीका घडा राखेर मङ्गलोच्चारण गर्दै अमेरिका यात्राका लागि बाहिरिएका उप्रेती दम्पतीले छोराबुहारीको फोर्टवेनस्थित नयाँ घर प्रवेश गर्दा त्यस्तै मङ्गलोच्चारण गरे कि गरेनन् ! उप्रेती परिवार अब ढुक्क छ, अमेरिकामा । अब फुर्सदै फुर्सद । छोराबुहारीसँग घुम्नुमा क्या आनन्द ! फुक्काफाल ! आखिर जीवनमा संयोगवश प्राप्त भएका तनावरहित क्षणहरूलाई उप्रेतीले सबिस्तार स्मरण गरेका छन् । फोर्टवेनस्थित घर वरिपरिको सुरम्य प्राकृतिक वातावरणबाट मुग्ध भएका बेला नजिकैको पोखरीले उप्रेतीको कविहृदयको परिक्षण गर्छ । उप्रेती ‘मेरी तलावरी’ शीर्षकमा पोखरीसँग प्रेमील काव्यिक परीक्षा दिन्छन् । घर वरिपरिको प्राकृतिक सौन्दर्यले उप्रेतीका शब्दहरूबाट सुन्दर अर्थ प्राप्त गरेको छ । मर्निङ वाकमा निस्किँदा भेटिएका स्थानीयहरूसँग अपरिचयमै रहिरहने हाईहेलोमा सीमित परिचय प्रायः भइरहन्छ । नयाँनयाँ ठाउँहरूमा पुगेर नयाँ अनुभवहरूलाई सँगाल्दै जान्छन् उप्रेती । यात्राको सार नै अनुभव सँगाल्नु र तिनै अनुभवभित्रबाट हृदयलाई सिञ्चन गराउने अनुभूतिलाई स्थायी रूपमा वरण गर्नु त हो । घुमेका ठाउँहरूपिच्छे फरकफरक अनुभवहरू भइ नै हाल्छन् । नेपाल जस्ता विफन्न मुलुकका क्रेता वा वित्रेताबीचको लुवाइमा फरक हुनु स्वाभाविक हो । उप्रेती अमेरिकी हाटमा त्यस्तो नेपालमा देखिनेजस्तो भिन्नताको अनुभव गर्दैनन् । उप्रेतीले पहिले पनि अमेरिकी जीवनशैलीको वास्तविक चित्र पहिलो नियात्रा ‘अमेरिका यात्राका डोबहरू’मा लेखेका छन् । यसपटकको दोस्रो यात्राक्रममा पनि त्यहाँको सम्पन्न समाज र त्यसभित्रको मानवीय यथार्थलाई झन् छर्लंग हुनेगरी मूल्याङ्कन गरेका छन् उनले । पुँजीवादी विश्वको सामाजिक धरातलीय यथार्थ केलाउने क्रममा आफूले तत्काल पुनः प्रत्यक्ष अनुभव गरिरहेको अमेरिककी माटोमा उभिएर उप्रेती बाह्य मुलुकबाट अमेरिकामा आई बसोबास गरिरहेका आप्रवासीहरूको भोगाइका अन्तर्व्यथाहरू छाम्न पुग्दछन् । प्रवासीयाहरूको जीवनको बडो मार्मिक चित्रण उप्रेतीले गरेका छन् । अमेरिकामा स्थायी रूपमा बस्दै आएका आप्रवासीहरूको मन विभाजित छ । बाह्य सुखसुविधाको चञ्चलाश्रीमा कावा खाइरहे पनि मनको भित्री तहमा लघुताभाषको पीडा छ, भय र अनिश्चितता छ । जीवन एक्लो छ, ‘सम्पन्नताको बाक्लो बर्कोमा जेलिएझैँ देखिने आप्रवासी अमेरिकी जीवन आफैँभित्रको सन्नाटामय एकान्तझैँ शब्दहीन विलाप भोगिरहेछ । अमोरिकामा बसेका बाहिरियाहरूका त्यहाँ देखिने सम्बन्धहरू औपचारिक छन्, हाँसोहरू कृत्रिम छन्, भन्दै उप्रेतीले उनीहरूका मुटुको व्यथालाई शब्दको अचुक मापनयन्त्रले एक्सरे गरेका छन् । ‘खुशी र हाँसोको भाषामात्र यहाँको माटोमा छ । जसले दुःख बुझ्दैन, सहँदैन । हाँस्दा यहाँ रमाउँछ । दुख्दा त उतैकाले समाउँछ । आँसु उतै सम्झेर पुछिन्छन् ।’ (पृ. ६३) लेख्नुमात्र ठूलो कुरो होइन, कसरी लेख्ने त्यो बढी महत्त्वपूर्ण मानिन्छ । अमेरिकामा जन्मिएका आप्रवासी अमेरिकी सन्ततिको नियतिलाई पनि उप्रेतीले बडो मार्मिक मूल्यांकन गरेका छन् । यस्ता सन्दर्भहरूलाई नियात्रा लेखनका क्रममा जोड्दै गर्दा उप्रेती सामाजिक चिन्तकका रूपमा देखिन्छन् । अमेरिका सिँगै आप्रवासीहरूद्वारा शताब्दीऔँदेखि भरिँदै आएको मुलुक हो । उप्रेतीको नियात्राचिन्तनमा अतितदेखि वर्तमान हुँदै सुदुर भविश्यसम्मकै आप्रवासीका नियतिको यथार्थ चित्रण छ । नियात्राकारले दृश्यमात्र देख्दैन, दृश्यभित्रका अर्थहरूलाई पनि चियाउँछ । उप्रेतीले अमेरिकामा पुगेर रमाइरहेका आप्रवासीहरूका हाँसोभित्र लुकेको आँसुलाई पनि देखेका छन् । वर्तमानको अमेरिकाली संसार कसरी बनियो त ? बेलायतको उपनिवेशका रूपमा रहेको अमेरिका स्वतन्त्र भएपछि त्यसअघिका अन्य मुलुकका मानिसहरू जो शताब्दीऔँदखि बस्दै आएका थिए, ती पनि अमेरिकी भए । क्रमशः विश्वभरिबाट आप्रवासीहरू थपिँदै गए । पुर्खा र पुर्खाको देश स्मृतिबाट हराएपछि ती अमेरिकी भए । उप्रेती लेख्छन्, ‘जुन दिन इतिहास चटक्कै बिर्सिन्छन्, त्यस दिनमात्र उनीहरूका हर सन्तान यताका हुन्छन् । अनि उताकाले पनि हाम्रो भनेर गर्व गर्न छोड्छन् शायद । अनि नयाँ भूगोलको सान्निध्यताले नयाँ इतिहासको निर्माण गर्दै जानेछ ।’ (पृ.६४) यी हरफहरू लेखिरहँदा उप्रेती छोराबुहारीले भर्खरैमात्र किनेर ‘आफ्नो’ पारेको घरमा बसेका छन् । उनले यतिखेर नेपालबाट अमेरिका आएर बस्दै गरेका असंख्य नेपालीलाई सम्झँदै उनीहरूका सन्ततिका स्मृतिबाट कसरी ‘नेपाल’को विलोप भएर ‘अमेरिका’ उनीहरूको ‘आफ्नो देश’को रूपमा जबर्जस्त सम्मानित हुन पुग्नेछ भन्ने कुराले बेचैन बनेका छन् । उनको मुटु यसबेला राष्ट्रबोधको कम्पनले हल्लिएको छ, अमेरिकामा बाँचिरहेका वर्तमानका नेपालीहरूको नियति सम्झेर । उप्रेतीले लामो निस्वास तान्दै लेखेका छन्, ‘मेटिनेछ उताको इतिहास नसम्झने गरी, भूगोलले दुई चढ्नेछ उनीहरूमाथि ।’ अमेरिकामा रमाउन पुगेका उप्रेती, यो भावी यथार्थलाई अक्षरमा पोखिरहँदा कतै आँखा डब्डबाउन त पुगेनन् ? यी पंक्तिहरू पढिरहँदा म फोर्टवेनमा बसिरहेका उप्रेतीको विम्व देखिरहेँछु । फेरि पनि बसुञ्जेल फोर्टवेन घुम्नुछ, छोराबुहारीसँग जता जाउ भन्छन् उतै जानुछ उप्रेती दम्पतीलाई । जहाँ पुग्छन् उप्रेती त्यहाँको गहिरो अवलोकन गर्छन्, त्यसलाई टिप्छन् । जनजीवनको बाँच्ने शैली र संस्कार मौसम, सवारी साधनको गति, सपिङ मलमा सजाइएका सामानका मूल्य, शहरीया घर वरिपरको प्राकृतिक सौन्दर्य, फोहोरमैला व्यवस्थापनको तौरतरिका, विभिन्न ठाउँमा रहेका सुन्दर उद्यान, नयाँ शहरमा आफूहरू पुग्दाका आपसि वार्तालापहरू आदि अनेक सन्दर्भहरूलाई उप्रेतीले सबिस्तार वर्णन गरेका छन् । लेखिसकेपछि एकातिर आफ्नो स्मृतिमा ती सधैँका लागि नमेटिने हुन्छन्, अर्कोतिर वर्तमानमा लेखिएका कुरा तिनै ठाउँका भविश्यका लागि अतितको जानकारी दिने माध्यम पनि बन्दछन् । उप्रेतीको यात्रा वर्णन उद्देश्यपूर्ण प्रतीत हुन्छ । स्थानविशेषका प्राकृतिक सौन्दर्यसँग उप्रेती सबभन्दा बढी रमाउँछन् । अनि, कि कविता लेख्छन्, कि कवितामय भएर पोखिन्छन् । म्याकिन्याक आइल्याण्डमा टेक्नेबित्तिकै लोभलाग्दा पंक्तिहरू लेख्छन्, “लेकको मौनतरङ्गमा सूर्यको किरण ठोकिँदा चम्किने पानी हिरामय भएको छ । अलि परसम्म नजर पुर्‍याएर टोलाउँदा चाँदीका चमकदार टुक्राहरू पौडिएको र तिहारमा घरबाहिर बालिने ससाना दियोले छर्ने उज्यालो जस्तो बत्तीको दृष्टि भएर थोपाथोपा भई जलाशयमा झरेको जस्तो देखिन्छ ।” (पृ.८६) सूर्यका किरणमा पानी टल्केको वर्णन, क्या सुन्दर ! घरतिरको सम्झनाले उनलाई घरिघरि नेपाल पुर्‍याइरहन्छ । बेलाबेलामा आफन्तजनका घरमा पुगेर केहीबेर रमाउँदा नेपालमै भएको आभास हुने गर्छ उप्रेतीलाई । अमेरिकी जीवनशैली पूर्णत प्रविधीमय छ । धरासयी प्राविधिक कुरामा परिचित नहुँदा क्षणिक अप्ठ्यारो भएको अनुभव लेखेका छन् उप्रेतीले । नायगरा झर्ना देखेर मुग्ध नहुने को पो होला र ! उप्रेतीको कवि हृदय झर्नाको पानी नै इन्द्रधनुषी बन्दछ, ‘त्यसमा देखिने इन्द्रधनुषले शृङ्गार रसको साहित्य सिर्जना गरिरहेझैँ लाग्छ । छाँगाहरू अमेरिकी इतिहासको गाथा सुनाउँदै छन् ।…’(पृ.११२) त्यसबेला नेपालका छाँगाछहराहरूको स्मरण आउने नै भयो उप्रेतीलाई । नायगरा फल्सको सुन्दर कविता पनि लेखेका छन् उप्रेतीले । सन्दर्भ अनुसार शहरीया जीवनशैलीको यथार्थ चित्रण गर्न छोड्दैनन् उप्रेती र भन्छन्, ‘धेरैजना भएर बसेको एक्लो जिन्दगी जस्तो लाग्छ अमेरिकी बसाइ ।’(पृ.११९) अमेरिका बसाइका त्रममा हवाई टापुको भ्रमण निकै रोमाञ्चक र कौतुहलमय बनेको छ उप्रेतीलाई । त्यहाँ देखेका दृश्य र अनुभवहरू सबैसबै नियात्रामा लिपिबद्ध भएका छन् । हवाई, नियात्रासङ्ग्रहको शीर्षकको जन्मदाता पनि बनेको छ । त्यहाँको इतिहास र वर्तमानबारे पर्याप्त जानकारी पाइन्छ । बेलाबेलामा उनीसँग झापाको सुरङ्गा पनि सम्वाद गर्न आइपुग्छ । बुवा खण्डकाव्यमा चार वर्ष पहिले भक्कानिएका उप्रेती पितृऔँसीमा हवाइद्विपमा भएका बेला पनि उसरी नै सुक्सुकाउँछन् । यस्ता सन्दर्भहरूले उप्रेतीको हवाई भ्रमण वृतान्त अत्यन्त मर्मस्पर्शीबनेको छ । यसलाई पाठकलाई अत्यन्त जादुमय रोमाञ्चकता पनि प्रदान गरेको छ । प्रशान्त महासागरको गहिराइ जत्तिकै उप्रेती अनुभूतिको गहिराइमा डुबेर आनन्दमा सुवर्णदानाहरू टिप्दछन् र शब्दका माला गाँस्दछन्, ‘सूर्यास्तको लालित्य आकाशमा छाउँदा प्रशान्त महासागरको पानीमा पनि लाली चढेको छ । आकाशमा बादल पनि रक्तिम रङ्गमा डुबेका छन् । तिनीहरू सुनका डल्लामा चाँदीको किनारा जडिएका गहनाजस्तै देखिएका छन् ।’ (पृ.१४४) सायमकालीन प्रशान्त महासागरीय दृश्यले यस्ता शब्दहरूमा आफूलाई अलङ्कृत बनाउन कति आगन्तुकहरू पायो होला ! ‘अ थिंग अफ ब्युटी इज अ ज्वये फरएभर’किट्सले भने झैँ प्रशान्त महासागरीय दृश्यले दिने आनन्दलाई सधैँका लागि मनमा साँचेका छन् उप्रेतीले । दोस्रो पटक अमेरिका आएका बेलाका अनुभव र दृश्यहरूद्वारा उद्वेलित भइरहेको फुरुङ्ग मनलाई स्मृतिकोशमा राखेर नेपाल फर्कने सुरसारमा लाग्छन् उप्रेती दम्पती । छोराबुहारीसँग बिदा भएर नेपाल फर्किने क्रममा हवाइमार्गको वर्णन पनि उप्रेतीले सबिस्तार लेखेका छन् । लेखेन भने ती विस्मृतिको गर्तमा हराएर जानेछन् । पश्चिम नेपालको आकाशमाथि जहाज आइपुग्दा उनी रमाउँछन् । केहीबेरपछि एयरपोर्टमा ओर्लेर आफ्नो देशको माटो छोएपछि आमालाई भेट्न आइपुगेको अनुभूतिमा डुब्छन् उप्रेती । जतिसुकै अव्यवस्थित भए पनि आफ्नो देश, आफ्नो माटोमा टेक्न आइपुगेका उप्रेती जन्मदात्री आमालाई सँगसँगै सम्झन्छन् । केही महिना विदेशमा बस्दाको मनोभावलाई क्रमशः आफ्नो माटो र परिवेशबाट उत्पन्न मनोभावले विस्थापित गर्दै जाने अनुभूतिलाई समेत समेटेका छन् । नियात्रा सङ्ग्रह ‘अलोहा’को अन्त्य सन्देशपूर्ण छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को पवित्र सन्देशको मर्मबाट ‘अलोहा’ को बिसौनी गरेका छन् उप्रेतीले । उप्रेतीको पारिवारिक भ्रमण वृत्तान्त भए पनि अमेरिकामा उनी घुमेका ठाउँका सामाजिक परिवेशहरूको सुन्दर र विस्तृत जानकारीमूलक चित्रण गरिएको छ ‘अलोहा’मा । जीवनलाई संयोगै संयोगको शृङ्खला मान्ने नियात्राकार उप्रेतीको ‘अलोहा’ अमेरिका भ्रमणका असङ्ख्य संयोगहरूको अभिलेखन बनेको छ र यो नेपाली नियात्रा साहित्यको एक सुन्दर प्राप्ति बन्न पुगेको छ । ‘अलोहा’ शब्द सम्झँदै उप्रेतीले लेखेका छन्, ‘नआत्तिन, नमात्तिन, स्थिर रहेर खुला हृदय र हँसिलो आकृतिमा रहन अभिप्रेरित गर्ने रहेछ यसले, जीवनलाई ऊर्जा दिने आलोकित बनाउने आभाजस्तो ।’ नियात्रा सङ्ग्रहले यस्तै आभा छोडेको महसुस हुन्छ । नियात्राकार हरिप्रसाद उप्रेतीलाई मुरीमुरी बधाई छ । यस्ता नियात्रा कृतिहरू फेरि पनि आऊन् । शुभकामना पनि छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण
Latest NewsJust now

‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । पत्रकार एवं लेखक सुशीला तामाङको अध्ययन अनुसन्धानमा तयार गरिएको पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण भएको छ । पूर्वमन्त्री परशुराम... ...

गोरखापत्र
यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६... ...

रातोपाटी
थापा अब चलचित्र निर्माणमा
Latest NewsJust now

थापा अब चलचित्र निर्माणमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । पेसाले व्यवसायी तर कला र चलचित्र क्षेत्रमा समेत आफ्नो रुचि र सिर्जनशीलतालाई अघि बढाइरहेका कलाकार मदन थापा पछिल्लो समय चलचित्र निर्माण... ...

गोरखापत्र
विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने
Latest NewsJust now

विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनाेट २०२७ को पहिलो खेलमा इटालीविरुद्ध खेल्ने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले इटालीसँगको भेट पक्का गरेको हो । इटाली त्यही राष्ट्र हो, जसले नेपाललाई गत फेब्रुअरीमा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ मा हराएको थियो । समूह ‘सी’ अन्र्तगत भएको यो खेलमा इटालीले नेपाललाई १० विकेटले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play