काठमाडौं, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरी एमालेप्रति पूर्वाग्रही बनेको बताउनुभएकाे छ। गत वर्ष भदौ २३ र २४ गतेका घटनापछि प्रहरी एमालेका नेता तथा कार्यकर्ताप्रति आक्रामक र प्रतिशोधपूर्ण रूपमा प्रस्तुत भएको उहाँको दाबी छ।

आज नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरीले एमालेसँग पुरानो शत्रुता साँधेको जस्तो व्यवहार गरेको बताउनुभयो। उहाँले प्रहरीको पछिल्लो व्यवहार आफूलाई आश्चर्यजनक लागेको उल्लेख गर्नुभयो। ‘पुलिसले एमालेसँग कहिलेदेखिको शत्रुता साँधेको हो, म छक्क परेको छु,’ ओलीले भन्नुभयो।

आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम ढंगले बल प्रयोग गरेको उहाँको भनाइ थियो। भदौ २३ र २४ गतेका घटनाका क्रममा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै उहाँले हिंसात्मक गतिविधि हुँदा प्रहरी मूकदर्शक बनेको तर आफू पक्राउ परेपछि एमालेका कार्यकर्ताले शान्तिपूर्ण विरोध गर्दा बल प्रयोग गरेको बताउनुभयो।

‘आगो लगाउँदा तमासा हेरेर बस्यो, बर्दी फुकाल्दा आँसु खसालेर बस्यो, आफ्नै साथी मार्दा निरिह भएर बस्यो, आफूलाई नाङ्गै पारेर अपमान गर्दा निरिह भएर बस्यो, नेकपा एमालेका कार्यकर्ताले शान्तिपूर्ण विरोध गर्दा कसैका टाउका फुटायो, कसैका हातखुट्टा भाँच्यो, कसैका शरीरभरि डामैडाम बनायो, अहिले पनि धेरै जना बैसाखी टेकेर हिँडेका छन्,’ उहाँले भन्नुभयो।

आफूले ६० वर्षभन्दा बढी समयदेखि राजनीति गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रहरीबाट अहिले देखिएको जस्तो निर्ममता यसअघि कहिल्यै नदेखेको बताउनुभयो। ‘यस्तो मैले देखेको थिइनँ, लखेटी लखेटी अत्यन्त निर्मम ढंगले चुट्यो,’ उहाँले भन्नुभयो।

प्रहरीले एमालेका कार्यकर्तालाई कुटपिट गर्दा हाँसेको समेत आफूले सुनेको ओलीको भनाइ थियो। एमाले नेतृत्वको सरकारका पालामा प्रहरीको सेवा सुविधा वृद्धि गरिएको स्मरण गराउँदै उहाँले आफूहरूले प्रहरी संगठनप्रति कहिल्यै नकारात्मक धारणा नराखेको बताउनुभयो।

प्रहरीले एमालेका कार्यकर्तालाई ‘झोले’ भन्दै कुटपिट गरेको बताउँदै उहाँले प्रहरीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। ‘पुलिस धेरै उत्ताउलिएको थियो, के पाउँथ्यो, के पायो अहिले,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले प्रहरी संगठन अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको दाबीसमेत गर्नुभयो। अहिले खुसी हुनेहरूले भविष्यमा त्यसको परिणाम भोग्नुपर्ने उहाँको चेतावनी थियो। ‘खुसी हुनेहरूले भोलि मार खान्छन् फेरि,’ ओलीले चेतावनीपूर्ण शैलीमा भन्नुभयो।

बैठकमा उहाँले कर्मचारी र व्यवसायीहरूको भूमिकाबारे पनि टिप्पणी गर्नुभयो। कर्मचारीहरूले एकपटक दसैँ आएजस्तो व्यवहार गरेको उल्लेख गर्दै अहिले उनीहरू पनि आफ्नो अवस्थाबारे सचेत हुन थालेको उहाँले बताउनुभयो।

त्यस्तै, विगतमा सरकारको प्रशंसा गर्दै हिँडेका व्यवसायीहरूले पनि अहिले परिस्थिति बुझ्न थालेको उहाँको भनाइ थियो। सम्पत्ति शुद्धीकरणलगायत विभिन्न नाममा व्यवसायीहरूलाई दुःख दिने काम भइरहेको बताउँदै उहाँले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभयो।

ओलीले ‘इनम सापकोटा’ नामका पात्र जन्माइएको टिप्पणी गर्दै ती पात्रको सम्बन्ध विभिन्न कोणबाट हेर्दा पनि सरकारसँग जोडिने गरेको दाबी गर्नुभयो।

सरकारको उत्पत्ति र गतिविधि असंवैधानिक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो। सरकारले कसैको पनि हित नगर्ने दाबी गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न निर्देशन दिनुभयो। ‘आन्दोलनका लागि साथीहरू तयार रहनुस्, तयारी गर्नुस्,’ उहाँले भन्नुभयो।

एमालेलाई आन्दोलन र निर्वाचन दुवै माध्यमबाट देशको सबैभन्दा ठूलो, कर्मठ र राष्ट्रवादी शक्ति भएको कुरा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो। त्यसका लागि पार्टीका सबै जनसंगठनलाई परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

पुलिसले एमालेसँग कहिलेदेखिको शत्रुता साँधेको हो ! म छक्क परेको छु : केपी ओली

Read Complete Original Article
Published originally on जनताटाइम्स