काठमाडौँ । पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी) विरुद्ध १९७ वटा अनुसन्धान अगाडि बढाउँदै ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ (हुन्डी)’ अनुसार उक्त अवधिमा अदालतबाट २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति राज्यकोषमा जफत भइसकेको छ । आर्थिक वर्ष २०७८/७९ देखि २०८२÷८३ को जेठ मसान्तसम्मको तथ्याङ्कले नेपालमा अवैध हुन्डी कारोबारको जालो र त्यसविरुद्धको कानुनी कारबाही तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ । प्रतिवेदनमा समावेश नेपाल प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा हुन्डीसम्बन्धी अनुसन्धानको ग्राफ तेब्बरभन्दा बढीले उकालो लागेको छ । आर्थिक वर्ष २०७८/७९ मा जम्मा १८ वटा मुद्दामा अनुसन्धान भएकोमा २०७९/८० मा २७ र २०८०/८१ मा ३३ वटा मुद्दा दर्ता भएका थिए। तर, आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा यो सङ्ख्या ह्वात्तै बढेर ६० पुगेको छ भने चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा मात्रै थप ५९ वटा अनुसन्धान सुरु भइसकेका छन् । पाँच वर्षमा अनुसन्धान भएका कुल १९७ मुद्दामध्ये १९० वटा मुद्दा अदालतमा दायर भइसकेका छन् भने १०३ वटा मुद्दामा अन्तिम फैसला समेत आइसकेको छ । बिगो दाबी र सम्पत्ति जफतको हिसाबले आर्थिक वर्ष २०८०/८१ सबैभन्दा ठुलो कारबाही भएको वर्ष देखिएको छ । उक्त एक वर्षमा मात्रै २ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो भने २ अर्ब ३८ करोड ७० लाख रुपैयाँ जफत भएको थियो । समग्र पाँच वर्षको अवधिमा प्रहरीले कुल ३ अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति बरामद (सिज) गरेको थियो भने १६ करोड ४४ लाख रुपैयाँ रोक्का (फ्रिज) राखेको थियो । अन्तिम फैसला भएका १०३ मुद्दाबाट कुल दाबी गरिएको बिगोको करिब ७१ प्रतिशत रकम राज्यकोषमा जफत हुनुले कानुनी कारबाहीको प्रभावकारिता बढ्दै गएको सङ्केत गर्छ । तथ्याङ्कको गहिरो विश्लेषण गर्दा हुन्डी कारोबार अब व्यक्तिगत स्तरबाट माथि उठेर सङ्गठित गिरोहका रूपमा सञ्चालन हुन थालेको पुष्टि भएको छ । पाँच वर्षका कुल १९७ अनुसन्धानमा ३३१ जना व्यक्ति मुछिएका छन् । अदालतबाट अन्तिम फैसला भएका मुद्दाहरूलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा १४ वटा फैसलामा २६ जना अर्थात् प्रतिमुद्दा औसत १.८६ जना संलग्न देखिएकोमा आर्थिक वर्ष २०८२/८३ को जेठसम्म आइपुग्दा ३० वटा फैसलामा १०६ जना अर्थात् प्रतिमुद्दा औसत ३.५३ जना दोषी ठहरिएका छन् । प्रतिमुद्दा संलग्न व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर हुनुले एजेन्ट, खाता भाडामा दिने ’मनी म्युल’ र भरियाहरू परिचालन गरेर चलाइने संगठित सञ्जाल सक्रिय रहेको प्रतिवेदनले औँल्याएको छ । प्रहरी अनुसन्धानमा तानिएका संदिग्धहरूको विवरण अनुसार अधिकांश १९ देखि ४५ वर्ष उमेर समूहका सक्रिय युवाहरू रहेका छन् । थोरै पुँजीमा भरिया वा सानो एजेन्टका रूपमा काम गर्न सकिने भएकाले न्यून आय भएका र सामान्य साक्षर व्यक्तिहरू यसको जालोमा बढी फसेका छन्। पक्राउ परेका तथा मुद्दा चलाइएका व्यक्तिहरूमा नेपाली नागरिकका साथै भारतीय र चिनियाँ नागरिक समेतको संलग्नता देखिनुले हुन्डीको सञ्जाल अन्तरदेशीय रूपमा फैलिएको स्पष्ट देखिएकाे प्रतिवेदनमा उल्लेख छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) ले हुन्डी कारोबारलाई फौजदारी कसुर मानेको छ भने १८ पुस २०८१ (२ जनवरी २०२५) देखि सरकारले यसलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतको सम्बद्ध कसुर समेत घोषणा गरेको छ । यद्यपि, प्रतिवेदनले भौतिक नगद बरामद गर्नुलाई मात्र अनुसन्धानको अन्तिम बिन्दु नमानी पक्राउ परेका व्यक्तिहरूको मोबाइल र डिजिटल उपकरणको फरेन्सिक जाँचमार्फत विदेशमा बसेर सञ्जाल गर्ने मुख्य नाइकेहरूसम्म पुग्नुपर्ने सुझाव दिएको छ।
पाँच वर्षमा हुन्डीविरुद्ध १९७ अनुसन्धान : सञ्जाल अन्तरदेशीय रूपमा फैलियाे

Read Complete Original Article
Published originally on टक्सार






