काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म वैदेशिक ऋण तथा अनुदान गरी उक्त रकम प्राप्त भएको हो। असोज मसान्तसम्म वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ। त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ। ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ। असोज मसान्तसम्म त्यसको ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको हो। यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। भदौमा १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ र असोजमा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। यससँगै पहिलो त्रैमासमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ। वैदेशिक सहायता परिचालनको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सीमित रहेको छ। – न्युज एजेन्सी नेपाल
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्त

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






