काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा सहभागी भई उनी स्वदेश फर्किएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले हिमाल र जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा अनुकूलन र हानि-नोक्सानीका लागि वित्तीय सहयोगजस्ता विषयलाई प्राथमिकताका साथ उठाएको छ। साथै, बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरणमा पनि नेपालले जोड दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले कोप प्रक्रियामा पर्वतीय मुलुकका एजेन्डा स्थापित गराउन सक्रिय प्रयास गरेको बताए। उनले भने, ‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दाहरू स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ, यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेन्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ।’ मन्त्री खनालले सम्मेलनका क्रममा ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्न र जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचकहरू समावेश गर्न माग गरेका थिए। नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था इसिमोड र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार कोप-३१ को बाँकी अवधिमा हुने बैठक तथा वार्ताहरूमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
पर्वतीय मुलुकका एजेन्डा कोप-३१ ले सम्बोधन गर्नेमा आशावादी छौँ: परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on नेपालन्युज





![बालेन सरकारको आयु लामो छैन : महेश बस्नेत [भिडियो]](https://hamrakura.com/uploads/news/images/mahesh-basnet-28-07.jpg)
