काठमाडौं उपत्यका नेपालमण्डल जीवन्त संस्कृतिको धनी शहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन । नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । यही नेवारी संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति बनेको छ भने विश्वमा नै नेपालको परिचयमा यसले भूमिका खेलेको छ । कतिपय नेवारी संस्कृति, कलाकृति र धार्मिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा पर्नुले पनि यसको पुष्टि गर्दछ । हालसम्म चल्दै आएका नेवारी संस्कृति अनुरूप विभिन्न किसिमका आश्चर्यलाग्दा संस्कार पनि छन् । तीमध्ये ‘माय् अवसं’ भनिने व्रत पनि हो । यो व्रत सामाजिक रूपमा पारपाचुके लिनका लागि गरिन्छ ।

कात्तिक धार्मिक महिना हो । कात्तिक महिनामा विभिन्न किसिमका धार्मिक क्रियाकलाप बढी गरिन्छ । धर्मकर्म गर्ने महिनाको रूपमा मान्दै आइरहेको कार्तिक महिनामा हिन्दु र बौद्धहरूले उत्तिकै श्रद्धा भक्तिपूर्वक विभिन्न किसिमले देवीदेवताहरूको आराधना, पूजापाठ भजन–कीर्तन गर्ने गर्दछन । कात्तिक महिनामा दशैँ, तिहारजस्ता चाडपर्व पर्छन् भने चण्डीको पाठ, देवीभागवतको कथा, विष्णु पुराणजस्ता विभिन्न कथा वाचन गर्ने सुन्ने सुनाउने गरिन्छ । कोजाग्रत पूर्णिमादेखि सकिमिला पूर्णिमा एक महिनासम्म नेवारहरूका घरघरमा ‘आलः मत’ अर्थात आकाश दीप बाल्ने गर्दछन् । त्यस्तै यस महिनाभरि चार नारायण भगवानाको दर्शन गर्न जाने मेला पनि लाग्दछ । यी मेला लाग्ने चार नारयणहरू हुन्- इचंगु नारयण, चाँगु नारायण, विशंखु नारायण र शेष नारायण ।

चोभारको सुवर्णगिरि कछपाल पर्वतस्थित आनन्दादि लोकेश्वरमा पनि यो कात्तिक महिनाभरि मेला लाग्दछ । चोभारमा हुने यही मेलाको अवसरमा लोकेश्वरको विहारमा हरिबोधिनी एकादशीदेखि पूर्णिमा पाँच दिनसम्म भक्तजनहरूले परम्परागत पारपाचुकेको लागि ‘माय् अवसं’ भनी व्रत बस्छन् । महिलाहरूले माइत गई बसिरहँदा लोग्नेले लामो समयसम्म अर्थात धेरै दिनसम्म बोलाउन आएन भने ती नेवार महिलाहरूले माय् अवसं भनी चोभारको विहारमा यो व्रत बस्ने चलन रहिआएको छ । व्रतालु महिलाहरूले फलफूलसम्म खान नहुने यो व्रत सितिमिती कोही पनि बस्दैनन् । पानीमात्र खाएर पाँच दिनसम्म बस्नुपर्ने यो व्रत बस्दा दिनहुँ एउटा तीर्थमा गएर स्नान गर्नुपर्ने नियम छ ।

यसरी तीर्थमा स्नान गर्न जाँदा आदिनाथ लोकेश्वर विहारकी गुरुमां अर्थात भिक्षुणीले एक जना अघि र एकजना पछाडि बसेर व्रतालुहरूलाई बीचमा राखेर तीर्थमा स्नान गराउन लैजान्छन् । यसरी स्नान गर्न जाँदा सबैभन्दा पहिलो दिन हरिबोधिनी एकादशीमा क्वय्ना चक्र तीर्थमा, द्वादशीका दिन नख्खु तीर्थमा, त्रयोदशीका दिन जलक्व ज्ञानतीर्थमा, चतुर्दशीका दिन क्वय्गाः तीर्थमा र सकिमिला पूर्णिमाका दिन च्वय्गाः सुलक्षण तीर्थमा गई स्नान गरी देवताको दर्शन गर्नुपर्छ । प्रत्येक दिन यसरी स्नान गरेर आएका व्रतालु महिलाहरूको व्यवस्थापन गर्ने पाञ्जुले क्रमैसँग व्रतालुलाई तीन अञ्जुली पानी खुवाउँछन् । यसरी जलपान गरिसकेपछि दिनभर केही खानु हुँदैन तर भोक लागेमा व्रतालुहरूले पुनः पानीमात्र खान पाउँछन् ।

दिनदिनै यसरी स्नान गरेर चोखोनितो गरी शुद्ध वस्त्र लगाई बस्नुपर्छ । कुनै पनि व्रतालु महिला आफू बसेको बहालबाट बाहिर जान पाउँदैनन् । ती सबै व्रतालु महिलाहरूले दिनभर बुद्धको धर्म देशना, कथा सुन्ने, भजन गाउने र बेलुका देवताको आरती गरेर विश्राम लिनुपर्ने विधान छ । यो व्रत जसले लिए पनि हुन्छ । यसमा जातपातको भेदभाव छैन । हुन त यो व्रत नेवार संस्कार र संस्कृतिनुरूप चल्दै आएको परम्परागत सामाजिक एवं धार्मिक कार्य भए तापनि गैरनेवारहरूले पनि यसमा भाग लिँदै आइरहेका छन् । बौद्ध नेवारहरूले मान्दै आइरहेको आदिनाथ लोकेश्वर विहारमा बस्ने यो व्रतमा हिन्दुहरू पनि सरिक हुँदै आइरहेका छन् । जातपात र धार्मि{क भेदभाव नभएकाले यस व्रतलाई धार्मिक सहिष्णुताको रूपमा लिइन्छ ।

नेवारहरूको यो परम्परागत माय् अवसं व्रत बस्ने क्रममा नेवारहरू भन्दा गैरनेवारहरूको संख्या बढ्दै गएको देखिन्छ । नेवारहरूको आफ्नै मौलिकपनको संस्कारले गर्दा यो व्रत बस्दा घरपरिवारका सदस्यहरूले पनि जुठोचोखो बार्नुपर्ने, घरमा जथाभावी कार्य गर्न नहुने, तलमाथि पार्न{ नहुने चोखोनितो गर्नुपर्ने धार्मिक मान्यता छ । केही गरी घरपरिवारकाले जुठोचोखो बारेन वा चोखोनितो गरेन र खाएको जुठो खाना त्यत्तिकै राखिछोडेमा व्रत बस्नेको स्वास्थ्यमा बाधा पर्ने, ज्वर आउने, पेट दुख्नेजस्ता रोग लाग्न सक्छन् । यस्तो भएमा पाञ्जुले भनेबमोजिम क्षमापूजा गरेमात्र स्वास्थ्य राम्रो हुने, मनको इच्छा पूरा हुने, विभिन्न किसिमका रोग पनि निको हुने, घरपरिवारमा राम्रो हुने र सुख, शान्ति, ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

यसरी नेवारहरूले यो व्रत बस्दा घरपरिवारले पनि धार्मिक विधिअनुसार नियममा बस्नुपर्ने र व्रत बसिसकेपछि विशेष पूजा गर्नुपर्ने, भोज पनि खुवाउनुपर्ने विधान छ तर गैरनेवारहरूले यस्ता धार्मिक कार्य विशेष पूजा गर्नु नपर्ने र भोज पनि खुवाउनु नपर्ने भएकाले यो व्रत बस्ने नेवार महिलाभन्दा गैरनेवार महिलाहरूको संख्या बढी भएको हो । नेवारी महिलाहरूले व्रत बस्न सकेपछि समापन गर्दा गुरुजु र पुरोहित राखेर विशेष पूजा गर्नुपर्ने र पूजा सकेपछि लोग्ने हुनेले लोग्ने आई उठाएर लानुपर्ने नियम छ । यसरी लोग्ने आई उठाइसकेपछि आफन्त र छरछिमेकीहरूलाई पनि भोज खुवाएर घरमा फर्किन्छन् ।

कसै कसैलाई घरबाट लोग्नेले लिन नआएमा उक्त समयमा अन्य कोही पुरुषले उठाई दियो भने उही पुरुषसँग विवाह गर्न हुने चलन छ । यसमा व्रतालु महिलाको पनि मञ्जुरी हुनुपर्छ । आफूलाई मन नपर्ने खालको पुरुषले उठाउन आएका महिलाले नमान्न पनि सक्छन् । यदि त्यसरी उठाउन आउने पुरुष आफूलाई उचित लागेमा उही पुरुषसँग व्रतालु महिलाले विवाह गर्न सक्छन् । नेवारहरूको माय् अवसं व्रतको यो एउटा आश्चर्यलाग्दो चलन हो । यदि लोग्नेले लिन नआएमा उनीहरूको बीचमा पारपाचुके भएको ठहर्ने अर्थात प्रमाणित हुने यो पुरानो चलन हो । यसलाई एउटा परम्परागत पारपाचुकेको चलनका रूपमा लिइएको छ ।

यहाँ व्रत बस्ने क्रममा गैरनेवार महिलाहरूले हाल आएर आफूखुशी व्रत बस्ने र सौखका रूपमा व्रत बसेर आफूलाई मनपर्ने केटासाथीलाई व्रतसक्ने दिन उठाउन आउनु भन्दै व्रत बस्ने कटीहरूको संख्या पनि बढ्दैगएको देखिन्छ । परम्परागत पुरानो चलनमा नेवारी संस्कार अनुसार माइतमा गई बसेका महिलाहरूलाई लोग्नेले लिन आएन भने पारपाचुके गर्ने किसिमले यो व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्दा लोग्नेले लिन नआएमा दम्पतीको पारपाचुके भएको ठहरिन्छ । यो सामाजिक परम्परा हालसम्म यथावत रूपमा चल्दै आइरहेको छ तर यस्तो पवित्र धार्मिक, सामाजिक एवं परम्परागत संस्कारमा विकृति र विसंगति नआओस् भन्नेतर्फ सचेत हुनुपर्छ ।

परम्परागत पारपाचुकेको संस्कृति र दर्शन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स