न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सहरका अधिकारीहरूका अनुसार बुधबार दिउँसो मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन भत्किएको हो। अग्नि नियन्त्रण विभागका अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते भएका १९ जनामध्ये दुई जनाको मृत्यु भएको छ। चार जनाको अवस्था गम्भीर र १२ जनाको अवस्था स्थिर रहेको छ। घाइतेमध्ये कम्तीमा सात जना बालबालिका रहेका छन्। न्युयोर्क प्रहरी विभागका एक अधिकारीले भग्नावशेषमा कति मानिस पुरिएका वा हराइरहेका छन् भन्नेबारे यकिन विवरण प्राप्त नभएको बताएका छन्। बुधबार दिउँसो करिब ४ बजे भएको दुर्घटनापछि अग्नि नियन्त्रकसहितका उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार गरिरहेका छन्। घटनास्थलका दृश्यमा उद्धारकर्मीले भग्नावशेषबाट मानिसहरूलाई निकालेर स्ट्रेचरमा राख्दै सुरक्षित स्थानमा पुर्याएको देखिएको छ। भवनसँगै रहेको निर्माणस्थलमाथि भवनको केही भाग खस्दा दुवै स्थानमा मानिसहरू पुरिएको आशंका गरिएको छ। उद्धार कार्य सुरु भएको चार घण्टा बितिसक्दा पनि भवनको अर्को भाग भत्किन सक्ने जोखिम रहेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका आयुक्तले भग्नावशेषमा भइरहेको खोज तथा उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण रहेको बताएका छन्।
न्युयोर्कमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु, १९ घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






