काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै प्रदेशस्तरीय ‘सीईओ क्लब’ सम्मान कार्यक्रम सम्पन्न गरेको छ। पोखरास्थित होटल पोखरा ग्राण्डमा शनिबार आयोजित कार्यक्रममा प्रदेशभरका करिब १५० जना अभिकर्ताको उत्साहजनक सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा, गण्डकी प्रदेश प्रमुख, विभिन्न शाखा कार्यालयका प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सुशील प्रताप राणाले गरेका थिए। कार्यक्रमको उद्घाटनपश्चात् प्रमुख कार्यकारी अधिकृत खत्रीले स्वागत मन्तव्य राख्दै जीवन बीमा अभिकर्ताको भूमिका बीमा योजना बिक्रीमा मात्र सीमित नरहेको बताए। आम नागरिक तथा परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने, जीवन बीमाप्रति जनचेतना फैलाउने र आर्थिक सुरक्षाको आधार निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिकर्ताहरूको काँधमा रहेको उनको भनाइ थियो। उनले ‘सीईओ क्लब’मा स्थान बनाउन सफल अभिकर्ताहरूलाई आगामी दिनमा अझ उच्च व्यावसायिक लक्ष्य निर्धारण गर्न आग्रह गर्दै ‘चेयरपर्सन क्लब’ तथा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित अभिकर्ता उपलब्धि ‘एमडीआरटी’ (मिलियन डलर राउन्ड टेबल) हासिल गर्ने दिशामा अघि बढ्न प्रेरित गरे। यसैगरी, उपकार्यकारी प्रमुख कँडेलले अभिकर्ताहरूको मेहनत, लगनशीलता र निरन्तर योगदानको प्रशंसा गरे। उनले ‘सीईओ क्लब’मा छनोट हुनु अभिकर्ताहरूको व्यावसायिक दक्षता, समर्पण र उत्कृष्ट कार्यसम्पादनको महत्वपूर्ण उपलब्धि भएको बताए। कार्यक्रममा ‘सीईओ क्लब’मा छनोट हुन सफल सम्पूर्ण अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सदस्यता प्रदान गर्नुका साथै सम्मान गरेका थिए। त्यसैगरी, ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ विधामा छनोट भएका अभिकर्ताहरूलाई सम्मानपत्र र चाँदीको पदक प्रदान गरी विशेष सम्मान गरिएको थियो। यसै अवसरमा आफ्नो व्यक्तिगत कोड तथा अभिकर्ता सञ्जालमार्फत गण्डकी प्रदेशमा उत्कृष्ट तीन स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ। सम्मान कार्यक्रमसँगै अभिकर्ताहरूको व्यावसायिक दक्षता, क्षमता र कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले उत्प्रेरणात्मक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिएको थियो। प्रशिक्षक डा। रविन कटुवालले सहजीकरण गरेको तालिममा अभिकर्ताहरूलाई आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्दै उच्च व्यावसायिक लक्ष्य हासिल गर्न आवश्यक ज्ञान, सीप र प्रेरणा प्रदान गरिएको थियो। कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दै कम्पनीकी प्रमुख प्रबन्धक सुस्मिता राणाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, अभिकर्ता, कर्मचारी तथा प्रशिक्षकप्रति आभार व्यक्त गरिन्।अभिकर्ताहरूको योगदानको कदर, क्षमता विकास र व्यावसायिक उन्नतिलाई प्राथमिकतामा राख्दै आएको नेशनल लाइफले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूलाई थप प्रोत्साहित गर्दै आएको छ। गण्डकी प्रदेशमा आयोजित यस सम्मान कार्यक्रमले अभिकर्ताहरूमा नयाँ ऊर्जा र उच्च उपलब्धि हासिल गर्ने आत्मविश्वास बढाउनुका साथै जीवन बीमाको पहुँच विस्तार तथा नागरिकको आर्थिक सुरक्षा सुदृढ बनाउन थप योगदान पुर्याउने अपेक्षा कम्पनीले गरेको छ। The post नेशनल लाइफद्वारा गण्डकीका उत्कृष्ट १५० अभिकर्ता सम्मानित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेशनल लाइफद्वारा गण्डकीका उत्कृष्ट १५० अभिकर्ता सम्मानित

Read Complete Original Article
Published originally on कर्पोरट खबर






