काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिफल घट्दै गएपछि दबाबमा देखिएको छ । व्यवसाय विस्तार, प्रिमियम सङ्कलन र लगानी कोष उल्लेखनीय रूपमा बढेको देखिए पनि प्रतिफलमा भने निरन्तर गिरावट देखिएको छ । इक्रा नेपालको पछिल्लो रेटिङ प्रतिवेदनले कम्पनीको वित्तीय आधार बलियो रहे पनि आगामी दिनमा नाफा र प्रतिफल व्यवस्थापन मुख्य चुनौती बन्ने सङ्केत गरेको छ। प्रतिवेदनअनुसार नेपाल लाइफको लगानी प्रतिफल आर्थिक वर्ष २०८०।८१ (२०२४) मा १०.१ प्रतिशत र आर्थिक वर्ष २०८१।८२ (२०२५) मा ९.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२।८३ (२०२६) मा घटेर ८.१ प्रतिशतमा समित भएकाे छ । कम्पनीको कुल लगानी रकम भने निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०२४ मा १ खर्ब ९८ अर्ब ६४ करोड रुपैयाँ रहेको लगानी पोर्टफोलियो आर्थिक वर्ष २०२५ मा २ खर्ब २८ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०२६ मा यो रकम बढेर २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यद्यपि ठुलो लगानी कोष भए पनि त्यसको अधिकांश हिस्सा स्थिर ब्याजदरमा आधारित छ । कम्पनीको कुल लगानीमध्ये करिब ७१ प्रतिशत रकम मुद्दती निक्षेपमा रहेको छ । आगामी तीन वर्षभित्र परिपक्व हुने करिब २२.५ प्रतिशत मुद्दती निक्षेप हालको भन्दा कम ब्याजदरमा नवीकरण हुन सक्ने भएकाले प्रतिफलमा थप दबाब पर्ने देखिएको छ । कम्पनीको कुल बीमा शुल्क आम्दानी भने बढ्दो क्रममा छ । आर्थिक वर्ष २०२५ मा ४८ अर्ब २० करोड रुपैयाँ रहेको कुल बीमा शुल्क आर्थिक वर्ष २०२६ मा बढेर ५४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । नवीकरण बीमा शुल्क ४० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने पहिलो वर्षको बीमा शुल्क ७ अर्ब ३४ करोड रुपैयाँ नाघेको छ। जीवन बीमा कोष पनि विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०२५ मा २ खर्ब ३४ अर्ब ७५ करोड रुपैयाँ रहेको जीवन बीमा कोष आर्थिक वर्ष २०२६ मा बढेर २ खर्ब ७६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले कुल बीमा शुल्कका आधारमा २५ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राखेको छ । इक्रा नेपालले कम्पनीको सोल्भेन्सी अनुपात १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको, सरकारी ऋणपत्रमा लगानी बढाएको तथा समग्र जोखिम व्यवस्थापनमा सुधार आएको आधारमा कम्पनीको रेटिङ ‘एए माइनस’बाट ‘एए’ मा स्तरोन्नति गरेको जनाएको छ । तर प्रतिवेदनले स्पष्ट रूपमा घट्दो लगानी प्रतिफल, सीमित लगानी विकल्प, बढ्दो सम्पत्ति आधार तथा कम ब्याजदरमा पुनः लगानी गर्नुपर्ने अवस्थाले आगामी वर्षहरूमा कम्पनीको नाफा र प्रतिफलमा थप दबाब सिर्जना गर्न सक्छ । कम्पनीले आफ्नो बढ्दो लगानी कोषबाट पर्याप्त प्रतिफल कायम राख्न सकेन भने बोनस दर, नाफा र सेयरधनी प्रतिफलमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ । हाल कम्पनीको रेटिङ सुधारिएको भए पनि लगानी प्रतिफल लगातार खस्कँदै जानु नै नेपाल लाइफको आगामी वित्तीय यात्राको सबैभन्दा ठुलो चुनौतीका रूपमा देखिएको छ। कहिले बीमा अभिकर्तासँगको विवाद त कहिले सञ्चालक समितिको बैद्यानिकताको विवादले कम्पनीको साख पनि बजारमा घट्न थालेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रतिफल घट्दो,बोनस दर, नाफा र सेयरधनी प्रतिफलमा असर

Read Complete Original Article
Published originally on टक्सार






