नयाँदिल्ली। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए। भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै उनले मैत्रीपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे। पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका मूल आधार रहेको बताउँदै प्रधानमन्त्री शाहले यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उल्लेख गरे। नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उनको भनाइ थियो। विश्वसनीय छिमेकीका रूपमा भारतले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसका लागि भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गरे। द्विपक्षीय सहकार्य र विकास साझेदारी प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयानुकूल बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा गहन छलफल भएको प्रधानमन्त्री शाहले बताए। वार्ताका क्रममा सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्यास भएको उनले जानकारी दिए। समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाले रोजगारी र अवसर पाउनुपर्ने, विद्यार्थीका लागि नयाँ सम्भावना विस्तार हुनुपर्ने तथा उद्यमीले नयाँ बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्नेमा उनले जोड दिए। यी उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले चिरस्थायी सम्बन्धको बलियो जगमा भविष्यका लागि थप मजबुत आधार निर्माण गर्नु आजको आवश्यकता भएको बताए। जलवायु र सांस्कृतिक सम्बन्ध हिमालयबाट प्राप्त स्वच्छ जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमालबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको बताए। जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए। नेपाल र भारतको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा गाँसिएको उल्लेख गर्दै उनले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवा सुरु गरिएको जानकारी दिए। पुर्खाले स्थापित गरेको ऐतिहासिक जगमा आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनको भनाइ थियो। यसले नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने विश्वास पनि उनले व्यक्त गरे। लगानी, शिक्षा र हवाई सम्पर्क विस्तार प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गरे। आगामी दिनमा नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। दुवै देशका नागरिकको सहज आवागमनका लागि दुवैतर्फका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ थियो। दुवै देशको समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उद्देश्यसहित तयार पारिएको साझा दृष्टिपत्र र दुई देशका साझा उपलब्धि समेटिएको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिने जानकारी पनि प्रधानमन्त्री शाहले दिए।
नेपाल-भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने प्रधानमन्त्री शाहको जोड

Read Complete Original Article
Published originally on नेपालन्युज





