काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रको सुधारका लागि उत्पादनशील क्षेत्रमा लगानी विस्तार, संस्थागत सुशासन र प्रविधिमैत्री सेवालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री वाग्लेको उपस्थितिमा आयोजित समारोहमा नेपाल बैंकको ऐतिहासिक योगदान तथा आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक स्थापनाको उद्देश्य आर्थिक उन्नति, जनतालाई सुविधा र मुलुकको विकाससँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले बैंकले आगामी दिनमा तीनवटा सुधारका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवालाई मुख्य सुधारका क्षेत्रका रूपमा औँल्याउनुभयो । बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्याएको योगदानका आधारमा मापन हुनुपर्ने उहाँको भनाइ थियो । ‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,’ उहाँले भन्नुभयो । त्यसैगरी, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थागत सुशासन र वित्तीय अनुशासन कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकारी स्वामित्वको नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्ने बताउनुभयो । बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि अर्थमन्त्री वाग्लेले जोड दिनुभयो । डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





_IX1Hc0VGIZ.jpg)
