काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने १० वटै टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि थप तीन टोली छनोट भएसँगै सहभागी सबै टोली निश्चित भएका हुन् । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेश गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् । छनोट भएका तीन टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ भने वीरगञ्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्ट र सुर्खेतको टोली एलाइड कन्टिनेन्टलले सञ्चालन गर्नेछन् । धरानको टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू आबद्ध हुनुहुन्छ । वीरगञ्जको टोलीको नेतृत्व उत्सव सिग्देलले गर्नुहुनेछ । सिग्देल नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्वसह-मालिक हुनुहुन्छ ।त्यस्तै, सुर्खेतको टोलीमा रचितकुमार अग्रवालसँगै नेपाल हिलटप इण्डष्ट्रिज प्रालि (नेपाटप) का निर्देशक दिगेन श्रेष्ठ तथा अष्ट्रेलियामा रहनुभएका सुजित बस्नेत र सविन श्रेष्ठ आबद्ध हुनुहुन्छ । बोलपत्र प्रक्रियामा धरानका लागि तीन करोड एक लाख रुपैयाँ, वीरगञ्जका लागि दुई करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि दुई करोड ५० लाख रुपैयाँको प्रस्ताव पेश भएको थियो । तीनवटै प्रस्ताव सफल भएपछि यी टोलीले लिगमा स्थान पक्का गरेका हुन् । तीन टोली छनोट भएपछि अध्यक्ष गुरुङले नेपाली फुटबलमा लगानी र विस्तारको सम्भावना अझै धेरै रहेको बताउनुभएको छ । तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनुले नेपाली फुटबलको सम्भावना उजागर गरेको उहाँको भनाइ छ । यसपटक छनोट हुन नसकेका १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने गुरुङले बताउनुभयो । यसअघि नै काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी सात टोली निश्चित भइसकेका थिए । अब धरान, वीरगञ्ज र सुर्खेतका टोली थपिएसँगै लिगको पहिलो संस्करणका लागि सहभागी हुने सबै टोलीको टुंगो लागेको छ । एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुनेछ । होम एन्ड अवे प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल फुटबल लिगका १० टोलीको टुंगो, धरान, वीरगञ्ज र सुर्खेत पनि छनोट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






