Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

नेपालमा आइआइटी खुल्दै, विज्ञको प्रश्न– नेपालीले पढ्न सक्ने शुल्क हुन्छ कि हुँदैन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा आइआइटी खुल्दै, विज्ञको प्रश्न– नेपालीले पढ्न सक्ने शुल्क हुन्छ कि हुँदैन ?
Photo / Coverage: पर्दाफास

भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि डलरमा शुल्क लिने व्यवस्था गरेमा नेपाली विद्यार्थीको पहुँच सीमित हुन सक्ने उनिहरुको भनाइ छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सम्झौताले यसको ढोका खुलेको हो । सम्झौता अनुसार नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोलिने छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक रहेको बताउँदै यसका सञ्चालन प्रक्रियाका बारेमा सोच्नुपर्ने बताए । उनका अनुसार भारतीय आइआइटीको गुणस्तर र अनुसन्धान क्षमता महत्त्वपूर्ण भए पनि त्यसको शुल्क नेपाली विद्यार्थीका लागि महँगो हुन सक्ने जोखिम हुनसक्छ । नेपालले आफु अनुकुल रुपमा यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै भारत सरकार र नेपाल सरकारले सहकार्य गरी सहुलियतपूर्ण शुल्कमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने उनले बताए । ‘नेपालका लागि आइआइटी महत्त्वपूर्ण छ । तर, गुणस्तर मात्रै भएर हुँदैन, विद्यार्थीले धान्न सक्ने शुल्क पनि हुनुपर्छ,’ मिश्रको भनाइ छ । इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष किशोर शाक्यले नेपालमा आइआइटी स्थापना हुनु सकारात्मक भए पनि यसको सञ्चालनमा नेपाली पक्षको सहभागिता सुनिश्चित हुनुपर्ने बताए । उनका अनुसार आइआइटी विश्वस्तरमा मान्यता प्राप्त उच्चस्तरीय इन्जिनियरिङ शिक्षण संस्था भएकाले त्यसको शैक्षिक मापदण्डअनुसार अध्ययनको अवसर नेपालमै उपलब्ध हुनु महत्त्वपूर्ण हुनेछ । तर, भारतीय पक्षले मात्रै सम्पूर्ण व्यवस्थापन र सञ्चालन गर्ने हो भने नेपालले अपेक्षित लाभ लिन नसक्ने उनको भनाइ छ । संस्थामा नेपाली प्राध्यापक, विज्ञ तथा दक्ष जनशक्तिलाई पनि सहभागी गराउने व्यवस्था हुनुपर्ने उनले बताए । ‘इन्जिनियरिङ कलेज स्थापना गरेर मात्रै हुँदैन, त्यसको व्यवस्थापनमा पनि नेपालीको सहभागिता हुनुपर्छ,’ शाक्यले भने, ’नेपाली विज्ञ र शिक्षकलाई पनि उपयोग गर्ने व्यवस्था गर्नुपर्छ । सबै जिम्मेवारी भारतीय पक्षलाई मात्रै दिनु हुँदैन ।’ उनले भारतको आइआइटी कानपुरलगायत संस्थाको शैक्षिक स्तर राम्रो रहेको उल्लेख गर्दै त्यस्तै गुणस्तरको शिक्षा नेपालमै उपलब्ध गराउन सके त्यसले नेपाली विद्यार्थी र इन्जिनियरिङ क्षेत्र दुवैलाई फाइदा पुग्ने बताए । नेपालकै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि दक्ष शिक्षक र प्रतिभाशाली विद्यार्थी रहेको भन्दै राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको टिप्पणी छ । यद्यपि, प्रस्तावित आइआइटीको पाठ्यक्रम, शुल्क, प्रमाणपत्र तथा व्यवस्थापनको स्वरूपबारे स्पष्ट हुनुपर्ने उनको भनाइ छ । भारतीय पाठ्यक्रम र शैक्षिक मापदण्ड लागू हुने भए पनि नेपाली विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्ने शुल्क संरचना बनाउनुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का पूर्ववरिष्ठ सल्लाहकार डा. ई. कमल रिजालले भने प्रस्तावित संस्थाको सञ्चालन स्वायत्त संरचनाबाट हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार संस्थाको नेतृत्व र शैक्षिक निर्णयमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप हुन नदिन नेपाली र भारतीय प्रतिनिधि सम्मिलित स्वायत्त सञ्चालक समिति बनाउनुपर्छ । रेक्टर वा उपकुलपतिजस्ता नेतृत्व चयन र संस्थाको शैक्षिक व्यवस्थापनमा पनि स्वायत्तता सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ । रिजालले आइआइटीको पाठ्यक्रम जस्ताको तस्तै नेपालमा लागू गर्नुभन्दा नेपालको भौगोलिक अवस्था, विकासका आवश्यकता र प्राविधिक चुनौतीअनुसार परिमार्जन गर्नुपर्ने बताए । नेपालका लागि हिमाली तथा पहाडी पूर्वाधार, सुरुङ इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । नेपालको भौगोलिक बनावट र विकासको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सके मात्रै यस्तो संस्थाले देशको विकासमा प्रत्यक्ष योगदान दिन सक्ने उनको भनाइ छ । साथै विदेशी विद्यार्थीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने विषय तथा ऐच्छिक पाठ्यक्रम पनि समेट्नुपर्ने उनले बताए । उनले भारतका आइआइटी तथा पहाडी क्षेत्रको विकासमा विशेषज्ञता हासिल गरेका संस्थासँग सहकार्य गर्न सकिने धारणा राखेका छन् । त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि शैक्षिक तथा अनुसन्धान साझेदारी विस्तार गर्नुपर्ने उनको सुझाव छ । सैद्धान्तिक ज्ञानमा मात्रै सीमित नरही विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाउन अनिवार्य तीनमहिने इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने रिजालको प्रस्ताव छ । सरकारी निकाय तथा स्थानीय समुदायसँग सहकार्य गरी विद्यार्थीलाई फिल्डमा खटाउने र उनीहरूको ज्ञानलाई विकास निर्माणका परियोजनासँग जोड्नुपर्ने उनले बताए । यसले विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्नुका साथै स्थानीय तहका विकास समस्या समाधान गर्न र दिगो पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने उनको अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी
OthersJust now

नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी

‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो । यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्‍यो या ठेक्का तोडेको हुनुपर्छ,’ मन्त्री लम्सालले भने । ...

अनलाइन खबर
‘यो कुरा अन्डरलाइन गर्नुहोस्, फेरि क्युएफएक्समा म मेरो फिल्म लगाउँदिनँ’ : सरोज न्यौपाने
OthersJust now

‘यो कुरा अन्डरलाइन गर्नुहोस्, फेरि क्युएफएक्समा म मेरो फिल्म लगाउँदिनँ’ : सरोज न्यौपाने

हाम्रो फिल्म ‘बाटुलो जून’मा दर्शकको चाप बढ्दै थियो । दर्शक बढे पनि नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा हाम्रो शो संख्या न्यून थियो । बलिउड फिल्म ‘रामायण’को ८० शो हुँदा हामीलाई २९ शो मात्र दिइएको थियो । एउटा हलमा त अझ कस्तो थियो भने ८ शो ‘रामायण’को अनि एक शो हाम्रो । त्यो पनि अमिल्दो… ...

अनलाइन खबर
खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ८ जना पक्राउ
OthersJust now

खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ८ जना पक्राउ

१२ मंसिर, काठमाडौं । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले शनिबार बिहान… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement