Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सैनिक सम्बन्ध: ऐतिहासिक विरासतदेखि आधुनिक सैनिक कूटनीतिसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सैनिक सम्बन्ध: ऐतिहासिक विरासतदेखि आधुनिक सैनिक कूटनीतिसम्म
Photo / Coverage: पर्दाफास

गोर्खा सैनिकको योगदान, मानार्थ महारथीको परम्परा, संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ र विपद् व्यवस्थापनमा सहकार्यले दुई देशका सेनाबीचको सम्बन्धलाई विशिष्ट बनाएको छ। पछिल्लो समय सैनिक तालिम, उपकरण सहयोग, प्रविधि र सुरक्षा समन्वयमा समेत सहकार्य विस्तार हुँदै गएको छ। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा मात्र सीमित छैन; दुई देशका सेनाबीचको सहकार्य पनि द्विपक्षीय सम्बन्धको महत्वपूर्ण र पुरानो आधार हो। गोर्खा सैनिकको ऐतिहासिक योगदान, एक–अर्काका सेना प्रमुखलाई प्रदान गरिने मानार्थ महारथीको सम्मान, संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ र प्राकृतिक विपत्तिमा हुने सहयोगले नेपाल–भारत सैनिक सम्बन्धलाई विशिष्ट बनाएका छन्। यो सम्बन्ध समयक्रमसँगै परम्परागत सैनिक सहकार्यबाट आधुनिक सुरक्षा संवाद, संयुक्त तालिम, विपद् प्रतिकार्य र सैनिक कूटनीतिसम्म विस्तार भएको छ। यद्यपि दुवै देशका सेनाको पहिलो जिम्मेवारी आ–आफ्नो राष्ट्रिय हित, सार्वभौमिकता र सुरक्षाको संरक्षण गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहकाे भारत भ्रमणकाक्रममा याे सैन्य सम्बन्धलाई थप मजबुत बनाउँदै नयाँ उचाईमा लैजाने विषयमा समेत ठोस निर्णय हुने आशा गरिएको छ । फाइल तस्बिर। ऐतिहासिक सम्बन्ध र गोर्खा सैनिकको योगदान नेपाल र भारतबीचको सैनिक सम्बन्धको इतिहास औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि पुरानो सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पर्कसँग जोडिएको छ। विशेषगरी गोर्खा सैनिकको योगदानले दुई देशका सेनाबीचको सम्बन्धलाई विशिष्ट पहिचान दिएको छ। पहिलो र दोस्रो विश्वयुद्धका समयमा नेपाली युवाहरू ब्रिटिस भारतीय सेनामा गोर्खा सैनिकका रूपमा भर्ती भएर विभिन्न मोर्चामा खटिएका थिए। उनीहरूले युद्धका कठिन परिस्थितिमा देखाएको साहस, अनुशासन र व्यावसायिक क्षमताका कारण गोर्खा सैनिकले अन्तर्राष्ट्रिय पहिचान बनाएका छन्। भारत स्वतन्त्र भएपछि पनि भारतीय सेनामा गोर्खा सैनिकको उपस्थिति कायम रह्यो। नेपालबाट भर्ती भएका गोर्खा सैनिक भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टमा कार्यरत रहँदै आएका छन्। उनीहरूको योगदानले दुई देशबीचको सैनिक सम्बन्धलाई संस्थागत र मानवीय दुवै आधारमा बलियो बनाएको छ। भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिक र अवकाशप्राप्त सैनिकहरूको नेपालसँगको सम्बन्ध पनि यो सहकार्यको महत्वपूर्ण पक्ष हो। भारतीय दूतावासको द्विपक्षीय विवरणअनुसार नेपालमा एक लाखभन्दा बढी भारतीय सेनाका अवकाशप्राप्त सैनिक बसोबास गर्दै आएका छन्। उनीहरूका लागि पेन्सन, स्वास्थ्य सेवा तथा कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सन् १९५० देखि मानार्थ महारथीको परम्परा नेपाल र भारतबीचको सैनिक सम्बन्धको सबैभन्दा विशिष्ट पक्षमध्ये एक हो—एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा। सन् १९५० देखि सुरु भएको यो परम्पराअनुसार नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ जनरल र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिँदै आएको छ। यो सम्मान दुई देशका सेनाबीचको पारस्परिक विश्वास, सम्मान र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा स्थापित छ। यो केवल औपचारिक दर्जा प्रदान गर्ने कार्यक्रम मात्र नभई सैनिक तहमा कायम रहेको मित्रता र सहकार्यको निरन्तरता पनि हो। नेपालका प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले सन् २०२४ डिसेम्बर १२ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गरेकी थिइन्। कार्यक्रममा उनलाई ‘सुप्रबल जनसेवाश्री महारथी’का रूपमा सम्बोधन गरिएको थियो। त्यसअघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई सन् २०२४ नोभेम्बर २१ मा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए। दुवै सेना प्रमुखलाई छोटो अवधिभित्र एक–अर्का देशको सर्वोच्च सैनिक सम्मान प्रदान गरिनुले सैनिक सम्बन्धलाई थप सुदृढ बनाएको थियो। यस परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०२६ अगस्ट १७ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरे। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देल, उच्च सरकारी अधिकारी तथा नेपालका लागि भारतीय राजदूतको उपस्थिति थियो। जनरल सेठको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीच आपसी हित, सैनिक सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो। उनले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत हस्तान्तरण गरेका थिए। ‘सूर्य किरण’: संयुक्त सैनिक अभ्यासको महत्वपूर्ण आधार नेपाल र भारतबीचको सैनिक सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउने महत्वपूर्ण माध्यम संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ हो। सन् २०११ मा सुरु भएको यो अभ्यास प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। पालैपालो नेपाल र भारतमा सञ्चालन हुने यस अभ्यासले दुवै देशका सेनाबीच संयुक्त रूपमा काम गर्ने क्षमता, समन्वय र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। ‘सूर्य किरण’लाई नेपाल र भारतबीचको सबैभन्दा महत्वपूर्ण तथा ठूलो संयुक्त सैन्य अभ्यासमध्ये एक मानिन्छ। यसको मुख्य उद्देश्य जङ्गल तथा पहाडी क्षेत्रमा युद्धकला, प्रतिआतंकवाद कारबाही, संयुक्त सैन्य परिचालन र संयुक्त राष्ट्रसंघको बडापत्रअन्तर्गत मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी क्षमता विकास गर्नु हो। यस अभ्यासमा सैनिकहरूले एक–अर्काको कार्यशैली, सैन्य रणनीति, सञ्चार प्रणाली र परिचालन प्रक्रियाबारे अनुभव आदानप्रदान गर्छन्। संयुक्त तालिमले वास्तविक सुरक्षा चुनौतीका बेला दुवै देशका सेनाबीच समन्वय गर्न सहज बनाउने अपेक्षा गरिएको छ। सूर्य किरणको १८औँ संस्करण सन् २०२४ डिसेम्बर ३१ देखि २०२५ जनवरी १३ सम्म नेपालको सलझण्डीमा आयोजना भएको थियो। उक्त अभ्यासमा भारतीय सेनाका ३३४ सैनिक सहभागी भएका थिए भने नेपाली सेनाको श्रीजंग गणले नेपाली टोलीको प्रतिनिधित्व गरेको थियो। अभ्यासमा जङ्गल युद्धकला, पहाडी क्षेत्रमा प्रतिआतंकवाद कारबाही, मानवीय सहायता तथा विपद् प्रतिकार्य, चिकित्सा तालिम र वातावरण संरक्षणमा जोड दिइएको थियो। यसको १९औँ संस्करण सन् २०२५ नोभेम्बर २५ देखि डिसेम्बर ८ सम्म भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न भएको थियो। उक्त अभ्यासमा नेपाल र भारत दुवै पक्षबाट ३३४–३३४ सैनिक सहभागी भएका थिए। नेपाली टोलीको प्रतिनिधित्व देवीदत्त गणले गरेको थियो भने भारतीय टोलीमा आसाम रेजिमेन्टका सैनिक सहभागी थिए। १९औँ संस्करणमा परम्परागत सैनिक तालिमसँगै आधुनिक प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको थियो। मानवरहित हवाई प्रणाली, ड्रोनमा आधारित निगरानी तथा सूचना सङ्कलन, कृत्रिम बुद्धिमत्तामा आधारित निर्णय सहयोग प्रणाली, मानवरहित रसद वाहन र सशस्त्र सुरक्षा प्लेटफर्मजस्ता प्रविधिबारे अभ्यास गरिएको थियो। यसले नेपाल–भारत सैनिक सहकार्य अब परम्परागत तालिममा मात्र सीमित नरही आधुनिक युद्धकला, प्रविधि र बदलिँदो सुरक्षा चुनौतीसँग अनुकूल हुन थालेको संकेत गर्छ। नेपालमा २०७२ सालमा गएको महाभूकम्पका समय भारतीय सेनाले स्थापना गरेको स्वास्थ्य शिविरको निरीक्षणगर्दै भारतका प्रिन्सीपल सेक्रेटरी र तत्कालिन राजदूत रञ्जित रे । प्राकृतिक विपत्तिमा सहकार्य र मानवीय सहयोग नेपाल र भारतबीचको सैनिक सम्बन्धको अर्को महत्वपूर्ण आयाम प्राकृतिक विपत्तिका बेला हुने सहयोग हो। भूकम्प, बाढीपहिरो तथा अन्य विपत्तिका समयमा दुवै देशका सेनाले उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गर्दै आएका छन्। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि भारतले नेपालमा खोजी, उद्धार र राहतका लागि ठूलो स्तरमा सहयोग परिचालन गरेको थियो। भारतले ‘अपरेसन मैत्री’ नाम दिएर सञ्चालन गरेको उक्त अभियानअन्तर्गत हेलिकोप्टर, उद्धार टोली, चिकित्सा जनशक्ति र राहत सामग्री नेपाल पठाएको थियो। भूकम्पलगत्तै भारतले उद्धार तथा राहत कार्यमा सक्रियता देखाएको थियो। भारतको विदेश मन्त्रालयका अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई एक अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन सहयोग घोषणा गरेको थियो। त्यसअन्तर्गत आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा पुनर्निर्माणका परियोजना सञ्चालन गरिएका थिए। भोटेकोशी बाढी लगत्तै भारतबाट आएको सहयोग हस्तानान्तरणगर्दैं तत्कालिन राजदूत नवीन श्रीवास्तव । भूकम्पबाहेक बाढीपहिरो र अन्य प्राकृतिक विपत्तिका समयमा पनि भारतले नेपाललाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ। सन् २०२४ सेप्टेम्बरमा आएको बाढीपहिरोपछि भारतले २५ टन मानवीय राहत सामग्री र १० वटा पूर्वनिर्मित स्टिल पुल अनुदानमा उपलब्ध गराएको थियो। सन् २०२५ अक्टोबरको भारी वर्षापछि पूर्वी नेपालमा ७० मिटर वा सोभन्दा लामो स्पान भएका १० वटा पुल निर्माणका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि भारतले जनाएको थियो। यस प्रकारको सहयोगमा सैनिक तथा सरकारी निकायबीचको समन्वयले विपद्का बेला उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने गरेको छ। File Photo सैनिक तालिम, उपकरण र क्षमता अभिवृद्धि नेपाल र भारतबीचको रक्षा सहकार्य संयुक्त सैन्य अभ्यासमा मात्र सीमित छैन। नेपाली सेनाका अधिकारी तथा सैनिकलाई भारतीय सैन्य संस्थाहरूमा तालिम, अध्ययन र व्यावसायिक क्षमता अभिवृद्धिका अवसर प्रदान गरिँदै आएको छ। दुवै देशका सैनिक अधिकारीबीच उच्चस्तरीय भ्रमण, अनुभव आदानप्रदान र विभिन्न तहमा सम्पर्क तथा समन्वय हुँदै आएको छ। भारतीय सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि सैनिक तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ। सन् २०२६ अगस्टमा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई सैनिक र स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरिएको थियो। उक्त सहयोगलाई विपद् तयारी तथा मानवीय प्रतिकार्य क्षमता अभिवृद्धिसँग पनि जोडिएको थियो। जनरल सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए। यसले दुवै देशका सैनिक संस्थाबीच शैक्षिक तथा व्यावसायिक सहकार्यलाई समेत महत्व दिइएको देखाउँछ। सैनिक कूटनीति र सुरक्षा समन्वय नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई सैनिक कूटनीतिको महत्वपूर्ण उदाहरणका रूपमा पनि हेरिन्छ। दुई देशका सेनाबीच नियमित सम्पर्क, उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास, तालिम र सुरक्षा संवादले राजनीतिक तहमा देखिन सक्ने जटिलतालाई सम्बोधन गर्न पनि सहयोग पुर्‍याउन सक्छ। सैनिक कूटनीति भन्नाले सेना–सेनाबीचको औपचारिक सम्बन्ध, संवाद, तालिम, अनुभव आदानप्रदान र पारस्परिक सहयोगलाई बुझिन्छ। नेपाल र भारतबीच यस्तो सम्बन्ध लामो समयदेखि संस्थागत रूपमा अघि बढ्दै आएको छ। सीमा व्यवस्थापन, सीमापार अपराध, लागुऔषध ओसारपसार, मानव तस्करी तथा अन्य सुरक्षा चुनौतीका विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय हुँदै आएको छ। यस्ता विषयमा सेना मात्र नभई प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर तथा अन्य सम्बन्धित सरकारी निकायको भूमिका पनि महत्वपूर्ण हुन्छ। भारतको नेपालसम्बन्धी द्विपक्षीय विवरणअनुसार दुई देशबीच सीमा व्यवस्थापन र सुरक्षासहित विभिन्न क्षेत्रमा ४० भन्दा बढी संस्थागत द्विपक्षीय संयन्त्र छन्। ती संयन्त्रले नियमित बैठक तथा छलफलमार्फत आपसी चासोका विषयमा सहकार्य गर्दै आएका छन्। सन् २०२६ फेब्रुअरीमा नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्झौता सम्पन्न भएको छ। यसले सीमापार अपराधको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियामा दुई देशबीचको सहयोगलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यो सम्झौता प्रत्यक्ष सैन्य सम्झौता नभए पनि व्यापक सुरक्षा सहकार्यको महत्वपूर्ण पक्ष हो। सन् २०२६ मा सैनिक सम्बन्ध थप सक्रिय नेपाल–भारत सैनिक सम्बन्ध पछिल्लो समय उच्चस्तरीय भ्रमण र व्यावहारिक सहयोगमार्फत थप सक्रिय देखिएको छ। सन् २०२६ अगस्ट १६ देखि १९ सम्म भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले टुँडिखेलस्थित सैनिक मञ्चमा वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेपाली सेनाको जङ्गी अड्डामा सम्मान गारत ग्रहण गरेका थिए। प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा दुवै देशका सेनाबीचको विद्यमान सम्बन्ध र रक्षा सहकार्य विस्तारका विषयमा छलफल भएको थियो। उनले नेपाली सेनाका उच्च अधिकारीबाट आपसी चासोका विषयमा जानकारी लिनुका साथै सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा सैनिक अधिकृतहरूसँग अन्तरक्रिया र पोखरामा भारतीय सेनाका अवकाशप्राप्त सैनिकहरूसँग भेटघाट पनि भ्रमणको कार्यक्रम थियो। भारतीय दूतावासका अनुसार जनरल सेठले पोखरामा आयोजित कार्यक्रममा भारतीय सेनाका अवकाशप्राप्त सैनिक, वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूसँग भेट गरेका थिए। त्यस्तै, कोहलपुरमा पूर्वसैनिक समुदायका लागि सञ्चालन हुने पूर्वसैनिक अंशदायी स्वास्थ्य योजना पोलिक्लिनिक पनि सेवाका लागि समर्पित गरिएको थियो। यो भ्रमणले सैनिक सम्मानको परम्परालाई निरन्तरता दिनुका साथै उपकरण सहयोग, स्वास्थ्य सेवा, तालिम र संस्थागत सम्पर्कलाई समेत प्राथमिकता दिएको देखिन्छ। चुनौती र सम्भावनाको सन्तुलन नेपाल–भारत सैनिक सम्बन्ध ऐतिहासिक रूपमा निकट रहे पनि यसलाई सन्तुलित, पारदर्शी र नेपालको राष्ट्रिय हितअनुकूल अघि बढाउनु आवश्यक छ। नेपाल र भारत दुवै सार्वभौम राष्ट्र हुन् र दुवै देशका सेनाको प्रमुख जिम्मेवारी आ–आफ्नो देशको राष्ट्रिय सुरक्षा तथा स्वाधीनताको रक्षा गर्नु हो। नेपालका लागि भारतसँगको सैनिक सहकार्य क्षमता अभिवृद्धि, तालिम, विपद् व्यवस्थापन र सुरक्षा समन्वयका दृष्टिले महत्वपूर्ण छ। तर यस्तो सहकार्य नेपालको असंलग्न परराष्ट्र नीति, स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय सुरक्षा प्राथमिकतासँग सन्तुलित हुनुपर्छ। दुवै देशबीचको खुला सीमा, भौगोलिक निकटता, साझा सामाजिक सम्बन्ध र पारस्परिक सुरक्षा चासोले सहकार्यको आवश्यकता बढाएको छ। बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधिमा आएको परिवर्तन, साइबर सुरक्षा, सीमापार अपराध र प्राकृतिक विपत्तिका नयाँ चुनौतीले पनि सैनिक तथा सुरक्षा निकायबीचको समन्वयलाई थप आवश्यक बनाएका छन्। नेपाल र भारतबीचको सैनिक सम्बन्ध केवल औपचारिक सम्मान वा संयुक्त अभ्यासमा सीमित छैन। यो इतिहास, जनस्तरको सम्बन्ध, सैनिक परम्परा, व्यावसायिक सहकार्य र मानवीय सहयोगको संयोजन हो। पारस्परिक सम्मान, विश्वास र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाउन सके यस सम्बन्धले दुवै देशको सुरक्षा, स्थिरता र क्षेत्रीय सहकार्यमा अझ महत्वपूर्ण योगदान दिन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै
OthersJust now

दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी… ...

अनलाइन खबर
फिलिपिन्समा पत्रकारको प्रश्नहरूले मोदी असहज, ट्रम्पसँग सोधे- हामी अब अगाडि बढौँ ?
OthersJust now

फिलिपिन्समा पत्रकारको प्रश्नहरूले मोदी असहज, ट्रम्पसँग सोधे- हामी अब अगाडि बढौँ ?

फिलिपिन्सको राजधानी मनिलामा मङ्गलबार आयोजित क्वाड शीर्ष नेताहरूको शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि केही असहज देखिने दृश्य सार्वजनिक भएको छ। ...

अनलाइन खबर
पुतलीसडकमा खुल्यो ‘माउन्टेनमग कफी’
OthersJust now

पुतलीसडकमा खुल्यो ‘माउन्टेनमग कफी’

पुतलीसडकस्थित रेमन्ड प्लाजामा खुलेको उक्त आउटलेटसँगै माउन्टेनमगले राजधानीभित्र आफ्नो सेवा तथा बजार विस्तारलाई थप निरन्तरता दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play