काठमाडौं। भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल–भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे आयोजित कार्यक्रममा बोल्दै बेहुरियाले दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नुपर्ने बताए। भूराजनीतिक प्रतिस्पर्धाका कारण आर्थिक तथा नागरिकस्तरको सम्बन्ध प्रभावित हुन नहुने उनको भनाइ छ। अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिस्पर्धा रहे पनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उनले भूराजनीतिक प्रतिस्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताए। उनका अनुसार अमेरिका र चीनबीच करिब ६०० अर्ब अमेरिकी डलर बराबरको व्यापार भइरहेको छ। भूराजनीतिले दुई देशलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उनले बताए। नेपाल–भारत सम्बन्ध जनस्तरको सम्बन्ध भएको उल्लेख गर्दै बेहुरियाले यस्तो सम्बन्धलाई भूराजनीतिक चासोबाट प्रभावित पार्न नहुने बताए। नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उनको भनाइ छ। चीनको काठमाडौंसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको उल्लेख गर्दै उनले यस्ता भूराजनीतिक चासोका कारण नेपाल–भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा जोड दिए। दुवै देशका नागरिकले राज्यकेन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उनले बताए। बेहुरियाले दक्षिण एसियाली देशबीच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गरे। क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए। दक्षिण एसियाली मुलुकहरूले राज्यकेन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिकस्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ। सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दालाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए। पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको बेहुरियाले बताए। भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय–समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उनको भनाइ छ। यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उनले बताए। – न्युज एजेन्सी नेपाल
नेपाल–भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छ : बेहुरिया

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





