काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी प्रशोधन तथा पुनः प्रयोगका लागि भारत पठाउने गरिएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को असोजसम्म मात्रै नेपालबाट १ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरका कवाड सामग्री निर्यात भएका छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा ४ करोड २९ लाख रुपैयाँभन्दा बढी मूल्यका यस्ता सामग्री भारतलगायतका बजारमा निर्यात भएका थिए । घर, उद्योग तथा विभिन्न संरचनाबाट निस्कने धातुजन्य फोहोर संकलन गरेर बिक्री गर्दा त्यसले एकातिर कवाड व्यवसायीलाई आम्दानीको अवसर दिएको छ भने अर्कोतिर पुनः प्रयोगयोग्य कच्चा पदार्थको व्यापारलाई समेत बढावा दिएको छ । रोचक पक्ष के छ भने नेपालमा सामान्य फोहोरका रूपमा लिइने जस्ता तथा अन्य धातुका टुक्राटाक्री विदेश पुगेर पुनः प्रयोग हुने कच्चा पदार्थ बन्ने गरेका छन् । यसले फोहोर व्यवस्थापनसँगै कवाड संकलन तथा पुनर्चक्रण व्यवसायको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ । तर, नेपालबाट निर्यात हुने यस्ता सामग्रीको प्रशोधन तथा मूल्य अभिवृद्धि स्वदेशमै गर्न सकिने सम्भावनाबारे पनि बहस आवश्यक देखिन्छ । कच्चा पदार्थकै रूपमा विदेश पठाउनुभन्दा स्वदेशमै पुनर्चक्रण उद्योग विस्तार गर्न सके रोजगारी सिर्जना, औद्योगिक विकास र थप आर्थिक लाभ लिन सकिने देखिन्छ ।
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






