नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटताभन्दा जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य हुने बताएका छन् । काठमाडौँमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । सिंहले संगठनको आधारस्तम्भ स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । ‘सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ ।’ उनले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्ताहरूलाई फिल्डमा खटिन र जनताको माझमा पुगेर काम गर्न आग्रह गरे । नेताको निकटताले मात्रै संगठन बलियो नहुने भन्दै उनले जनताको भावना र आवश्यकता बुझ्नुपर्नेमा जोड दिए । ‘नेताको नजिक भएर मात्र हुँदैन, जनतामाझ पुगेर उनीहरूका भावना र आवश्यकता बुझ्नुपर्छ,’ सिंहले भने । जनतासँग भिजेर उनीहरूका समस्यामा साथ दिनु नै संगठन बलियो बनाउने विकल्प भएको उनको भनाइ थियो । उनले वर्तमानका मुद्दामा पनि पार्टीले आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्ने बताए । ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘जनता धेरै अगाडि बढिसकेका छन्, अब हामी पनि जनतामाझ अझ बढी भिजेर काम गरौँ ।’ पार्टीको सांगठनिक सुदृढीकरणका लागि स्थानीयस्तरमा खटिने निष्ठावान् कार्यकर्ताहरूलाई पार्टीको मूल प्रवाहमा स्थान दिइनुपर्ने उनको तर्क छ ।
नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

Read Complete Original Article
Published originally on पर्दाफास






