काठमाडौँ। मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने नेत्र विशेषज्ञले बताएका छन्। नेत्र विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहमा आँखाको नियमित परीक्षण गराउनु आवश्यक छ। डायबेटिक रेटिनोप्याथीले आँखाको पर्दा (रेटिना) का रक्तनलीमा क्षति पुर्याउने भएकाले समयमै परीक्षण र उपचार गराए दृष्टिविहीन हुनबाट बच्न सकिने उनले बताइन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ आहार, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल र सुर्तीजन्य पदार्थ सेवन नगर्ने बानीले मधुमेहको जोखिम कम गर्न सकिन्छ। मधुमेहले आँखाका रक्तनलीमा क्षति पुर्याएर स्थायी दृष्टि क्षति तथा अन्धोपन निम्त्याउन सक्छ। सङ्गठनका अनुसार डायबेटिक रेटिनोप्याथी दृष्टि कमजोर हुने र अन्धोपन निम्त्याउने प्रमुख कारणमध्ये एक हो। विश्वभर ३९ लाख मानिसमा यसका कारण टाढाको दृष्टि कमजोर हुने वा दृष्टिविहीनताको समस्या देखिएको छ भने १० करोड ३० लाखभन्दा बढी वयस्क यस अवस्थाको कुनै न कुनै रूपबाट प्रभावित छन्। डायबेटिक रेटिनोप्याथी सुरुआती अवस्थामा लक्षणविहीन हुन सक्ने भएकाले दृष्टिमा समस्या नदेखिए पनि मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराउनुपर्ने डा. थापाको भनाइ छ। रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी रहँदा आँखाको पर्दाका सूक्ष्म रक्तनलीमा क्षति पुग्छ। समयमै पहिचान र उपचार नभए दृष्टि गुम्न सक्ने चिकित्सकहरू बताउँछन्। मधुमेहको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाहअनुसार जीवनशैली व्यवस्थापन र आँखाको नियमित परीक्षण आवश्यक रहेको डा. थापाले बताइन्। उनले मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहमा आँखाको परीक्षण गराउन आग्रह गरिन्।
नियमित परीक्षणले मधुमेहका कारण हुने दृष्टि क्षति रोक्न सकिने

Read Complete Original Article
Published originally on नेपालन्युज






