राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको कसुरमा उच्च अदालत पाटनले श्रीवास्तवलाई २०८१ वैशाख २४ गते ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो । रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय श्रीवास्तव उक्त सजाय कार्यान्वयन नभई फरार रहँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंसिर २ गते वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो । श्रीवास्तवविरुद्ध संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल नामका फर्ममार्फत झुट्टा तथा नक्कली भ्याट बिल जारी गरी राजस्व चुहावट गरेको मुद्दा चलेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
नक्कली भ्याट बिल प्रकरण : ५३ करोड जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






