अष्ट्रेलिया । नइ एकेडेमी अष्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ । अष्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र सामाजिक विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कारबाट सम्मान गरिएको हो । नेपाली समुदायको पहिचान, सांस्कृतिक सम्पदा र सामाजिक विकासमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले एकेडेमीले सन् २०२२ देखि हरेक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा.कृष्ण हमाल सम्मानित हुनुभएको छ भने मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाल पुरस्कृत हुनुभएको छ । नेपाली तथा अष्ट्रेलियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ । सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै डा.भरत पौडेललाई सम्मान गरिएको छ । मानवसेवा अष्ट्रेलियालाई सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै एक हजार अष्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ । अष्ट्रेलिया इन्कर्पोरेटेड तथा पत्रकारिता र सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्याएका आचार्य राजन शर्मालाई पनि नइ पुरस्कार प्रदान गरिएको छ । संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया इन्कलाई उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मान गरिएको छ । पश्चिमी अष्ट्रेलियामा नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा.राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत हुनुभएको छ । संगीत विधातर्फ नेपाली सांगीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आउनुभएकाका उदाउँदा गायक तथा संगीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कृत गरिएको छ । त्यसैगरी, नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदान पुर्याएको भन्दै राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको एकेडेमीले जनाएको छ । नइ एकेडेमी अष्ट्रेलियाकी संस्थापक तथा अध्यक्ष सीमा रोशीले पुरस्कारमार्फत नेपाली समुदायको पहिचान, भाषा, कला, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्व र संस्थालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।
नइ एकेडेमी अष्ट्रेलियाद्वारा १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


.jpg)



