Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

धेरै अधुरा कामले थाकिरहेको छ तपाईंको मस्तिष्क ? तनाव कम गर्न अपनाउनुस् यी पाँच उपाय

Share:WhatsAppFacebookX (Twitter)Telegram
धेरै अधुरा कामले थाकिरहेको छ तपाईंको मस्तिष्क ? तनाव कम गर्न अपनाउनुस् यी पाँच उपाय
Photo / Coverage: विश्वखबर

काठमाडौं– काम सकिएपछि पनि दिमागमा अनेक कुरा खेलिरहन्छन् ? गर्न बाँकी कामको चिन्ताले फुर्सदको समयमा समेत मन शान्त हुँदैन ? यस्तो समस्या ‘जाइगार्निक प्रभाव’ का कारण हुन सक्छ । केही सामान्य उपाय अपनाएर अधुरा कामको मानसिक बोझ कम गर्न सकिन्छ । मेरो कम्प्युटरमा प्रायः दर्जनौँ ब्राउजर ट्याब खुलिरहेका हुन्छन् । तीमध्ये धेरैजसो यसै स्तम्भका लागि आवश्यक अनुसन्धान सामग्री हुन्छन् । आज मात्रै एउटा विन्डोमा ६१ वटा ट्याब खुला रहेको गनेँ । कुनै परियोजना पूरा भएपछि त्यससँग सम्बन्धित वेबपेज बन्द गर्दा मन हलुका भएको महसुस हुन्छ । किनभने प्रत्येक खुला ट्याबले कुनै न कुनै अधुरो कामको सम्झना गराइरहेको हुन्छ । अनुसन्धानहरूले पनि अधुरा कामले मस्तिष्कमा बोझ थप्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्ने देखाएका छन् । तर कामको प्रकृति नै यस्तो हुन्छ कि एउटा परियोजना सकिनासाथ अर्को सुरु भइहाल्छ । कतिपय अवस्थामा त धेरै काम एकैपटक अघि बढिरहेका हुन्छन् । अधुरा कामका कारण उत्पन्न हुने मानसिक थकान कसरी कम गर्न सकिन्छ भन्ने विषयमा मैले विभिन्न विज्ञसँग कुराकानी गरेँ । त्यसक्रममा कामबाट केही समय अलग हुन सक्नु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुने र त्यसका लागि सचेत प्रयास आवश्यक पर्ने थाहा पाएँ । किन अधुरा कामले दिमागमा ठाउँ ओगटिरहन्छन् ? अधुरा कामहरू पूरा भएका कामको तुलनामा हाम्रो स्मृतिमा बढी समयसम्म रहिरहन्छन् भन्ने अवधारणा झन्डै एक शताब्दी पुरानो हो । सन् १९२७ मा रुसी मनोवैज्ञानिक ब्लुमा जाइगार्निकले एउटा अध्ययन सार्वजनिक गरेकी थिइन् । उनले गरेको अनुसन्धानमा बीचमै रोकिएका कामहरू पूरा गर्न दिइएका कामको तुलनामा मानिसले बढी सम्झिने पाइएको थियो । यस अनुसन्धानको प्रेरणा एउटा रेस्टुरेन्टमा काम गर्ने वेटरबाट मिलेको बताइन्छ । उनका सुपरभाइजर तथा मनोवैज्ञानिक कुर्ट लेविनले व्यस्त रेस्टुरेन्टमा वेटरहरूले ग्राहकको भुक्तानी नहुँदासम्म उनीहरूको ठूलो अर्डर सम्झिरहने तर भुक्तानी भइसकेपछि त्यसलाई तुरुन्तै बिर्सने गरेको देखेका थिए । टेलिभिजनमा देखाइने अधुरा कथाहरूले पनि दर्शकलाई अर्को भाग हेर्न उत्सुक बनाइरहन्छन् । कथाको गाँठो नफुक्दासम्म पात्रहरूको यात्रा र घटनाक्रम हाम्रो स्मृतिमा ताजा रहिरहन्छ । मनोविज्ञानमा यसलाई अहिले पनि ‘जाइगार्निक प्रभाव’ भनिन्छ । यद्यपि अधुरा काम बढी सम्झिने विषयमा भएका प्रारम्भिक निष्कर्षलाई पछिल्ला अनुसन्धानले सधैँ एकरूपताका साथ पुष्टि गर्न सकेका छैनन् । तर यस अवधारणाले अधुरा कामले हाम्रो मस्तिष्कमा निरन्तर ठाउँ ओगटिरहने विषयमा थुप्रै अध्ययनलाई प्रेरित गरेको छ । जर्मनीस्थित युनिभर्सिटी अफ एप्लाइड साइन्सेस बोन-राइन-सिगकी मनोविज्ञान प्राध्यापक क्रिस्टिन साइरेकका अनुसार मानिसमा कुनै पनि काम पूरा गर्ने र त्यसको निष्कर्षमा पुग्ने स्वाभाविक मानसिक आवश्यकता हुन्छ । काम पूरा नभएसम्म त्यससँग सम्बन्धित जानकारी हाम्रो दिमागमा सक्रिय रहिरहन्छ । साइरेकका अनुसार यसले पछि पुनः काम सुरु गर्दा आवश्यक विवरण सम्झन सजिलो बनाउँछ । तर यसको मानसिक मूल्य पनि चुकाउनुपर्छ । साइरेक र उनका सहकर्मीहरूले गरेका अध्ययनमा साताको अन्त्यसम्म अधुरा रहेका काम तनाव र निद्रामा अवरोधसँग सम्बन्धित रहेको पाइएको छ । त्यस्तै, यस्ता कामले कामकै विषयमा निरन्तर सोचिरहने अवस्था पनि सिर्जना गर्न सक्छन् । अधुरा कामको मानसिक बोझ कम गर्दै कामबाट अलग हुन अपनाउन सकिने पाँच उपाय यस्ता छन्ः १) समयलाई आधार बनाएर कामको लक्ष्य निर्धारण गर्नुहोस् काम अधुरै रहँदा मानिसमा आफ्नो क्षमता र कार्यसम्पादनप्रति नकारात्मक भावना उत्पन्न हुन सक्छ । एउटा अध्ययनमा काम पूरा नभएका कर्मचारीलाई त्यसबारे निरन्तर सोचिरहने र मानसिक रूपमा कामबाट अलग हुन कठिन हुने पाइएको थियो । तर काममा केही प्रगति भएको महसुस हुँदा आफ्नो क्षमता र नियन्त्रणप्रति विश्वास बढ्ने तथा तनाव कम हुने देखिएको थियो । यसको अर्थ सबै काम अनिवार्य रूपमा पूरा गर्नुपर्छ भन्ने होइन । बरु बाँकी काम कसरी र कहिले पूरा गर्ने भन्ने स्पष्ट योजना बनाउनुपर्छ । आफ्ना कामको प्राथमिकता निर्धारण गर्ने, लक्ष्य तय गर्ने र कामका क्रममा आउन सक्ने अवरोधबारे पहिल्यै सोच्ने मानिसलाई अधुरा कामबाट मानसिक रूपमा अलग हुन सजिलो हुन्छ । प्राध्यापक साइरेकका अनुसार आफूले गर्नुपर्ने काम लेखेर राख्दा मनलाई ढुक्क बनाउन सकिन्छ । ‘मैले यो काम बिर्सिने छैन, किनभने यसलाई लेखेर राखेको छु’ भन्ने विश्वासले मस्तिष्कलाई आराम दिन्छ । काम सुरु गर्नुअघि नै दिनभरिका गतिविधिको योजना बनाउनु पनि उपयोगी हुन्छ । बिहानै प्राथमिकताका आधारमा काम छुट्याउँदा काममा प्रवेश गर्न सहज हुने एउटा अध्ययनले देखाएको छ । मलाई पनि हरेक बिहान आफ्नो कार्यतालिका हेरेर अनुसन्धान र लेखनका लागि अवरोधरहित समय छुट्याउन उपयोगी लागेको छ । यसले निर्धारित काम समयमै पूरा हुने विश्वास दिलाउँछ । २) मोबाइल र अन्य उपकरणका सूचना बन्द गर्नुहोस् मोबाइलमा आउने विभिन्न एपका सूचनाले मानिसलाई जुनसुकै समयमा पनि कामका लागि उपलब्ध भइरहन प्रेरित गर्छन् । कामबाट फुर्सद पाएको समयमा समेत हाम्रो मस्तिष्क समस्याको समाधान खोज्नमै व्यस्त हुन सक्छ । क्यानडास्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी संज्ञानात्मक विज्ञानकी सहायक प्राध्यापक जोन ओङचोको भन्छिन्, उनी अघिल्लो साता पढाएको कक्षाबारे सपनामा समेत सोचिरहेकी थिइन् । इमेल जाँच्ने बानीले पनि काम र पारिवारिक जीवनबीचको सन्तुलन बिगार्न सक्छ । एक समीक्षात्मक अध्ययनले घरमा समेत कामसम्बन्धी इमेल हेर्ने बानीले कार्यालयको कामलाई व्यक्तिगत जीवनसम्म पुर्‍याउने देखाएको छ । त्यसैले तनाव कम गर्ने एउटा सरल उपाय भनेको इमेल जाँच्ने समय घटाउनु हो । कार्यालयको काम सुरु भएपछि मात्रै इमेल हेर्ने वा दिनमा निश्चित समय छुट्याएर इमेल जाँच्ने बानी बसाल्न सकिन्छ । कामका लागि प्रयोग गरिने मेसेजिङ एपमा आउने सूचनाका हकमा पनि यही नियम लागू गर्नुपर्छ । त्यस्तै बिदाका समयमा कामबाट पूर्ण रूपमा अलग हुन सके बिदाको आनन्दसमेत लामो समयसम्म कायम राख्न सकिन्छ । ३) सम्भव भएसम्म एकैपटक धेरै परियोजनामा काम नगर्नुहोस् हरेक दिन काम सुरु गर्दा कम्प्युटरमा खुला रहेका धेरै ब्राउजर ट्याबले सूचनाको अत्यधिक चाप अर्थात् ‘इन्फर्मेसन ओभरलोड’ सिर्जना गर्न सक्छन् । एउटा कामबाट अर्को काममा जाँदा मस्तिष्कले उल्लेख्य मानसिक ऊर्जा खर्च गर्नुपर्छ । यसले कार्यक्षमता र एकाग्रतामा असर पार्न सक्छ । त्यसैले सम्भव भएसम्म एउटा काम पूरा गरेपछि मात्रै अर्को काम सुरु गर्नु उपयोगी हुन्छ । यसले मस्तिष्कको तत्कालीन स्मरण क्षमतामा पर्ने भार कम गर्छ । प्राध्यापक ओङचोकोका अनुसार एउटा काम पूरा गरेर त्यसलाई मानसिक रूपमा बन्द गर्दा मस्तिष्कका अन्य कामका लागि आवश्यक स्रोत र ऊर्जा खाली हुन्छ । त्यसैले कुनै काम पूरा गरेपछि मानिसले आफूलाई थप ऊर्जावान् महसुस गर्न सक्छ । ४) बिदाअघि नै कामको समयसीमा र योजना मिलाउनुहोस् विशेषगरी चाडपर्व र लामो बिदाको समयमा कामको तनाव बढ्न सक्छ । तर क्रिसमस बिदाअघि र पछि गरिएको एउटा अध्ययनले बिदामा जानुअघि कम अधुरा काम छाडेका कर्मचारीको काममा फर्किएपछिको मानसिक स्वास्थ्य राम्रो रहेको देखाएको थियो । यस विषयमा व्यवस्थापकहरूले पनि कर्मचारीलाई समयमै योजना बनाउन प्रोत्साहित गर्न सक्छन् । प्राध्यापक साइरेकका अनुसार बिदामा जानुअघि सबै काम पूरा गर्नैपर्छ भन्ने छैन । तर आफू फर्किएपछि सहज रूपमा निरन्तरता दिन सकिने अवस्थामा काम छाड्नुपर्छ । यसका लागि बाँकी कामको विवरण लेखेर राख्ने, आवश्यक कागजात व्यवस्थित गर्ने र अर्को चरणमा के गर्ने भन्ने स्पष्ट योजना बनाउने गर्न सकिन्छ । यसले बिदाका समयमा काम बिर्सिने चिन्ता र त्यसबारे बारम्बार सोचिरहने अवस्थाबाट बच्न मद्दत गर्छ । ५) काम र व्यक्तिगत जीवनबीच दूरी बनाउन निश्चित बानी विकास गर्नुहोस् कामबाट व्यक्तिगत जीवनमा प्रवेश गर्दा अपनाइने निश्चित गतिविधि अर्थात् ‘ट्रान्जिसन रिचुअल’ ले मस्तिष्कलाई कामबाट अलग हुन मद्दत गर्छ । नेदरल्यान्ड्सस्थित ग्रोनिङ्गेन विश्वविद्यालयका संगठनात्मक मनोविज्ञानका सहायक प्राध्यापक ओलिभर वेइगेल्टका अनुसार वातावरण परिवर्तन गर्नु यसको एउटा प्रभावकारी उपाय हो । उदाहरणका लागि, घरबाटै काम गर्ने मानिसले काम सकिएपछि नजिकैको पार्क वा पसलसम्म हिँडेर जान सक्छन् । अर्को कोठामा प्रवेश गर्नु वा केही समय बाहिर घुमेर आउनु पनि उपयोगी हुन सक्छ । क्यानडास्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक ओङचोकोका अनुसार एउटा कोठाबाट अर्को कोठामा प्रवेश गर्दा मस्तिष्कले अघिल्लो गतिविधिसँग सम्बन्धित स्मृतिलाई केही हदसम्म पन्छाएर नयाँ गतिविधिका लागि ठाउँ बनाउने प्रक्रिया सुरु गर्छ । त्यस्तै काम सकिएपछि ल्यापटप अर्को कोठामा राख्नु पनि उपयोगी हुन्छ । यसले तनाव उत्पन्न गर्ने कामबाट मानसिक दूरी बनाउन सहयोग गर्छ । यी उपायहरूले कामको तनावलाई सही दृष्टिकोणबाट हेर्न र व्यक्तिगत जीवनमा त्यसको प्रभाव कम गर्न मद्दत गर्न सक्छन् । प्राध्यापक वेइगेल्टका अनुसार ससाना काममा मात्रै केन्द्रित नभई समग्र अवस्थालाई हेर्न सक्दा अधुरा कामप्रतिको अनावश्यक चिन्ता कम गर्न सकिन्छ । यी कुरालाई ध्यानमा राख्दै मैले पनि कार्यालय समयबाहिर इमेल नहेर्ने र दैनिक कामको योजना अझ व्यवस्थित बनाउने प्रयास सुरु गरेकी छु । यससँगै म ‘जाइगार्निक प्रभाव’ सँगै ‘ओभ्सियान्किना प्रभाव’ लाई पनि बुझ्ने प्रयास गरिरहेकी छु । यो अवधारणाले मानिसमा अधुरा काम पुनः सुरु गरेर तिनलाई पूरा गर्ने स्वाभाविक चाहना रहने देखाउँछ । त्यसैले कम्प्युटरमा खुला रहेका धेरै ट्याबलाई तनावको स्रोतका रूपमा मात्रै हेर्नुको सट्टा ती पूरा गर्न बाँकी कामको सम्झना गराउने माध्यमका रूपमा लिन थालेकी छु । किनभने अधुरा कामले मानिसलाई निरन्तर आफूतिर आकर्षित गरिरहन्छन् । प्राध्यापक ओङचोकोका अनुसार अधुरा कामप्रतिको आकर्षण निकै बलियो हुन सक्छ । तर यसले कहिले अनावश्यक तनाव सिर्जना गरिरहेको छ भन्ने कुरा पहिचान गर्न सक्नु महत्त्वपूर्ण हुन्छ । -मेलिसा हगबुम/बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीले पुल बगाएपछि रसुवावासी तुइनको जोखिमपूर्ण यात्रामा
Latest NewsJust now

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवावासी तुइनको जोखिमपूर्ण यात्रामा

हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ। ...

हाम्राकुरा
भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
Latest NewsJust now

भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

चितवन । गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा)... ...

रातोपाटी
आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे
Latest NewsJust now

आठ जिल्लाका सीडीओ परिवर्तन, अध्यागमन विभागको महानिर्देशकमा घिमिरे

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement