काठमाडौं। वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राखेका छन्। २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत तथा लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशत कायम गरेको छ। त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्। कात्तिककै ब्याजदरलाई निरन्तरता दिने बैंकमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकमा ३.९८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ। यससँगै बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत बिन्दुले कमी आएको छ। मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ। नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले पनि ४ प्रतिशतभन्दा बढी ब्याजदर दिएका छन्। बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन्। नयाँ ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ। – न्युज एजेन्सी नेपाल
धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राखे

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





