दाङ। कामदारको अभाव र ज्याला बढ्दै गएपछि यहाँका किसान धान झार्न आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित भएका छन्। जनशक्ति र समयको बचत हुने भएकाले थ्रेसर मेसिनको प्रयोगमा वृद्धि भएको स्थानीय किसानले बताएका छन्। घोराही उपमहानगरपालिका–७ का किसान पवन ओलीले पछिल्लो समय स्थानीय युवा वैदेशिक रोजगारीमा जाने र गोरु पाल्न छाडेकाले थ्रेसर मेसिनको प्रयोगले निकै सहज भएको बताए। गाउँमा कामदार पाउन मुस्किल हुने र पाइए पनि कामदारको ज्याला महँगो पर्ने उनको भनाइ रहेको छ। “थ्रेसर मेसिनबाट काम गर्दा छिटो हुने र खर्च कम लाग्छ । त्यसैले धान भित्र्याउन मेसिनकै भर पर्न थालेका छौँ”, उनले भने। सोही स्थानमा अर्का किसान सन्तोष चौधरीले पनि थ्रेसर मेसिनले खेतीपातीको काम सहज बनाएको बताए। गोरु र कृषि मजदुरको अभाव बढ्दै गएको अवस्थामा थ्रेसर मेसिन खेतसम्म लैजान र प्रयोग गर्न सजिलो भएको उनको भनाइ छ। थ्रेसर मेसिन सञ्चालक रणबहादुर चौधरी अनुसार मेसिनको प्रयोगले किसानको समय र श्रम बचत हुनुका साथै खर्च कम लाग्ने गरेको छ। उनले धान र पराल छुट्याएबापत प्रतिघण्टा रु दुई हजार ३०० बराबरको ज्याला लिने गरेको जानकारी दिए। जिल्लामा थ्रेसर मेसिनको माग बढ्दै गएको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा ३४ हजार २३३ हेक्टरमा धानखेती हुँदै आएको छ। पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहका किसानले धान र पराल छुट्याउन थ्रेसर मेसिनको प्रयोग गर्दै आएको उनले बताए।
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






