इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट बरामद भएको ४७ किलो शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनामाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । गत कात्तिक १० गते इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याक गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो । बरामद भएको ४७ किलो पदार्थ परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदनले उक्त वस्तु न्यून विस्फोटक पदार्थ (गन पाउडर/कालो बारुद) भएको पुष्टि गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त विस्फोटक पदार्थसहित पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशीमाथि यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । प्रयोगशालाको प्रतिवेदन प्राप्त भएपछि उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा कानुनी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बरामद विस्फोटक पदार्थ तथा अन्य सामानको स्रोत र ओसारपसारमा संलग्न पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट बरामद ४७ किलो वस्तु विस्फोटक पदार्थ पुष्टि, तीन जनामाथि अनुसन्धान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






