काठमाडौं। दोस्रो विश्वयुद्धका क्रममा चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग गर्ने क्रममा बेपत्ता भएका अमेरिकी वायुसेनाका सैनिकका अवशेष चीनले खोजेर अमेरिकालाई हस्तान्तरण गरेको छ।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित छेन्दुमा मंगलबार चिनियाँ र अमेरिकी सेनाबीच आयोजित समारोहमा सैनिकका अवशेष हस्तान्तरण गरिएको हो।

दोस्रो विश्वयुद्धका क्रममा ‘हम्प रुट’ क्षेत्रमा बेपत्ता भएका अमेरिकी सैनिकका हुन सक्ने अवशेष समुद्री सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको हिमनदीमा फेला पारिएको हो।

चीनको सिचुआनस्थित निजी सङ्ग्रहालय चियानछ्वान सङ्ग्रहालयले गठन गरेको खोजी टोलीले तिब्बत स्वायत्त क्षेत्रको न्यिङ्छीस्थित हिमनदीमा खोजी अभियान सञ्चालन गरेको थियो। टोलीले जोखिमपूर्ण हिमाली क्षेत्र, घना जङ्गल र तीव्र गतिमा बग्ने नदी पार गर्दै सैनिकका अवशेष खोजेको थियो।

खोजी टोलीका प्रमुख छेरिङ छोद्राकका अनुसार हिमनदीसम्म पुग्ने क्रममा पहाडी भिर, नदी र अस्थायी पुल पार गर्नु चुनौतीपूर्ण थियो। कतिपय स्थानमा सडक तथा पुलको सुविधा नभएकाले टोली आफैँले पुल निर्माण गरेर डोरीको सहायताले नदी पार गर्ने व्यवस्था मिलाएको थियो।

उनका अनुसार हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने सैनिकका अधिकांश अवशेष ढुङ्गामुनि पुरिएकाले खोजी कार्य कठिन भइरहेको छ। पछिल्लो अभियानमा हड्डीका आठ टुक्रा फेला पारिएको उनले जानकारी दिए।

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४२ देखि १९४५ सम्म ‘हम्प रुट’ चीनलाई जापानी आक्रमणविरुद्धको प्रतिरोधमा सहयोग पुर्याउन मित्रराष्ट्रहरूले प्रयोग गरेको महत्त्वपूर्ण हवाई आपूर्ति मार्ग थियो। यस मार्गमा एक हजारभन्दा बढी चिनियाँ तथा अमेरिकी हवाई चालक दलका सदस्यले ज्यान गुमाएका थिए। उच्च हिमाली क्षेत्र र हिमनदीका कारण उनीहरूमध्ये धेरैको अवशेष अझै फेला पर्न सकेको छैन।

खोजी टोलीले बाँकी सैनिकका अवशेष फेला पार्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

चियानछ्वान सङ्ग्रहालयका प्रमुख फान चियानछ्वानले ती सैनिकको योगदान सधैँ स्मरणीय र सम्मानयोग्य रहेको बताए। करिब ८० वर्षअघि चीन र अमेरिकाले फासीवादविरुद्ध सँगै लडेको ऐतिहासिक मित्रतालाई यस खोजी अभियानले थप जीवन्त बनाउने उनको भनाइ छ।

उनले विगतको साझा सङ्घर्षबाट स्थापित मित्रताको संरक्षण गर्दै विश्व शान्तिका लागि सहकार्य जारी राख्नुपर्नेमा समेत जोड दिए।

– सिन्ह्वा/न्युज एजेन्सी नेपाल

दोस्रो विश्वयुद्धमा हराएका अमेरिकी सैनिकका अवशेष हिमनदीमा फेला, स्वदेश फर्काइँदै

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार