अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा विश्वा भूटानी साहित्यिक संगठन (जि.बि.एल.ओ.) द्वारा आयोजित ‘सृजना, स्रष्टा र संवाद’ कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा देवकोटाको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा पुर्याएको योगदानबारे विमर्श गरिनुका साथै विभिन्न साहित्यकारले आफ्ना सिर्जना वाचन गरेका थिए । वरिष्ठ साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष पातलो अन्तरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धरावासीले देवकोटाको छोटो जीवनकालमा नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो । देवकोटाको करिब तीन दशक लामो परिपक्व साहित्यिक यात्राको चर्चा गर्दै धरावासीले उहाँका अप्रकाशित कृतिहरू अझै पनि फेला परिरहनुले उहाँको असाधारण सिर्जनात्मक क्षमता र साहित्यिक विस्तारलाई प्रमाणित गर्ने उल्लेख गर्नुभयो । उहाँले देवकोटालाई आशुकविका रूपमा चित्रण गर्दै बनारसमा १५ पैसामा तत्कालै कविता लेखिदिने गरेको प्रसङ्गसमेत सुनाउनुभयो । देवकोटाको छन्दमाथिको गहिरो पकड र तीव्र लेखनशैलीको चर्चा गर्दै उहाँले कतिपय कवितामा अनुप्रास नमिले पनि छन्दका नियम र संरचनामाथि उहाँको बलियो दखल रहेको बताउनुभयो । कार्यक्रममा प्रस्तुत सिर्जनाले गाउँघरका सम्झना, सामाजिक परिवेश र जीवनका सङ्घर्षलाई मार्मिक रूपमा अभिव्यक्त गरेको उहाँको भनाइ थियो । संस्थाका संस्थापक अध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेंजोम साम्पाङले देवकोटाको चर्चित भनाइ ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । समाजले देवकोटाको मानवीय सन्देशलाई अझै पूर्ण रूपमा आत्मसात् गर्न नसकेको उल्लेख गर्दै उहाँले करिब आठ-नौ दशकअघि लेखिएको ‘मुनामदन’ जस्तो कालजयी कृतिका विचार र भावनाले अहिले पनि समाजलाई मार्गदर्शन गरिरहेको धारणा राख्नुभयो । कार्यक्रममा संस्थाका सांस्कृतिक निर्देशक सरगम थपालियाले देवकोटाको जीवन, व्यक्तित्व र साहित्यिक योगदानबारे परिचयात्मक प्रस्तुति दिनुभएको थियो । महासचिव दियालो सुसन माझीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम निर्देशक ईश्वर ढकालले सहजीकरण गर्नुभएको थियो । साहित्यिक प्रस्तुतिअन्तर्गत शेखर कोइराला र खगेन्द्र खुशीले कविता वाचन गर्नुभएको थियो । त्यस्तै, वसुधा रिजाल, अभिलाल साम्पाङ, अभि न्यौपाने ‘अभिषेक’, कुबेर कुइकेल ‘भुवन्तरे’ र इन्दिरा प्याकुरेलले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । दार्जिलिङका साहित्यकार कर्ण विरहले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा क्रियामाण फाउन्डेसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भरत तिमसिना, रोशन पराजुली, ज्ञानु बुढाथोकी, रस्मि असफल, सुदर्शन पोखरेल, आशिष लक्ष्मण खरेल लगायतले आ-आफ्ना साहित्यिक सिर्जना सुनाउनुभएको थियो । कार्यक्रममा अनलाइन माध्यमबाट प्राप्त सिर्जनालाई समेत वाचनका लागि समावेश गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष पातलो अन्तरेले सहभागी अतिथि, स्रष्टा तथा आयोजकप्रति आभार व्यक्त गर्दै धन्यवाद मन्तव्य राख्नुभएको थियो । देवकोटाको साहित्यिक योगदानको स्मरण, सिर्जना वाचन र साहित्यिक विमर्शसँगै कार्यक्रम सम्पन्न भएको थियो।
देवकोटाको जन्मजयन्तीमा ‘सृजना, स्रष्टा र संवाद’को तेस्रो शृङ्खला

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






