Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढ्यो : नगर प्रमुख थोप्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढ्यो : नगर प्रमुख थोप्रा
Photo / Coverage: नेपालन्युज

झापा। निर्वाचनका बेला जनतासँग गरेको खेलकुद विकासको प्रतिबद्धता कार्यान्वयन गर्दै झापाको शिवसताक्षी नगरपालिकाले दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ । नगरप्रमुख मेगाहाङ थोप्राले खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजनाअनुसार रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्ने तयारी गरिएको बताएका छन् । दोस्रो झापा महिला गोल्डकपको उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले पहिलो संस्करणको सफलतापछि खेलकुद पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार दुधे रंगशालामा फ्लडलाइट जडानका लागि पहिलो चरणको एक करोड तीन लाख रुपैयाँको ठेक्का आह्वान भई प्रक्रिया टुंगिएको छ । सम्झौता हुनासाथ काम सुरु हुनेछ । आवश्यक थप बजेट जुटाउन सके आगामी पुसभित्रै रंगशालामा फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाको अपेक्षा छ । ‘हामी खेलकुदका माध्यमबाट शिवसताक्षी नगरलाई देशविदेशमा चिनाउन चाहन्छौँ । त्यसका लागि नगरकार्यपालिका दत्तचित्त भएर लागेको छ,’ नगरप्रमुख थोप्राले भने । उनले आगामी वर्ष आयोजना हुने तेस्रो झापा महिला गोल्डकप उद्योगी, व्यवसायी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैलाई पायक पर्ने समयमा हेर्न सक्ने वातावरण बनाउने लक्ष्यसमेत सुनाए । फ्लडलाइट जडानका लागि करिब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त रकममा पहिलो चरणको एक करोड तीन लाख रुपैयाँसमेत समावेश छ । अब थप डेढदेखि दुई करोड रुपैयाँ अनुदान प्राप्त भए पुसभित्रै फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालले बताए । बाँकी बजेटका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नगरपालिकाको तयारी छ । योजनाअनुसार रंगशालाको चार कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछ । पहिलो चरणमा टावरसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् पुर्‍याउन आवश्यक केबलको व्यवस्था हुनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गरिनेछ । प्रकाशको गुणस्तर लक्सको मापदण्डअनुसार कायम गरिने र मैदानमा १२ सयदेखि १४ सय लक्ससम्म प्रकाश पुर्‍याउने लक्ष्य रहेको इन्जिनियर बरालले बताए । पर्याप्त प्रकाशका कारण खेलाडी तथा खेल सामग्रीको छायाँले खेलमा बाधा नपुग्ने गरी व्यवस्था गरिने उनको भनाइ छ । फ्लडलाइट जडानपछि दुधे रंगशालामा फुटबलसँगै एथलेटिक्सलगायतका खेलकुद गतिविधि रातिको समयमा पनि सञ्चालन गर्न सकिनेछ । यसले प्रतियोगिता आयोजना गर्ने समय बढाउनुका साथै खेलाडीलाई अभ्यासको थप अवसर र दर्शकलाई अनुकूल समयमा खेल हेर्ने सुविधा दिनेछ । रात्रिकालीन खेलकुद गतिविधिले आसपासका होटल, यातायात, खानपान तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले बताए । नगरप्रमुख थोप्राले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर आफू र आफ्नो पार्टीले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न योजना प्रस्तुत गरेको स्मरण गरे । ती योजना क्रमशः कार्यान्वयन हुँदै जाँदा आत्मसन्तुष्टि मिलेको र नगरवासीको खेलप्रतिको उच्च मोहको सम्मान भएको उनको भनाइ छ । ‘जनतासँग गरेको वाचा यो पनि पूरा भयो भने कुनै प्रतिबद्धता बाँकी रहने छैनन्,’ उनले नेपाल न्युजसँगको कुराकानीमा भने । दुधे रंगशालाको विकास पनि स्थानीय खेलप्रेमीको लामो प्रयासको परिणाम हो । करिब दुई दशकअघि सामान्य खेलमैदानका रूपमा रहेको दुधेमा स्थानीयले फुटबल खेल्दै आएका थिए । पछि भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र ए डिभिजन क्लब सहभागी दुधे गोल्डकप आयोजना हुन थालेपछि यसले फुटबल क्षेत्रमा पहिचान बनाएको हो । त्यसपछि व्यवस्थित रंगशालाका रूपमा विकास गर्ने प्रयास अघि बढेको थियो । शिवसताक्षी नगरपालिकाले २०७४ सालमा रंगशालाको गुरुयोजना तयार गरेपछि पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । स्थानीय सरकारको लगानी र खेलप्रेमीको सक्रियतामा मैदान स्तरोन्नति, स्थायी प्यारापिट, मञ्चलगायत संरचना निर्माण हुँदै आएका छन् । झापा महिला गोल्डकपजस्ता ठूला प्रतियोगिता आयोजना हुन थालेपछि दुधे रंगशालाले जिल्लाकै प्रमुख खेलकुद केन्द्रका रूपमा पहिचान विस्तार गरिरहेको छ । नगरपालिकाले अघि बढाएको फ्लडलाइट योजना कार्यान्वयन भए दुधे रंगशाना दिउँसो मात्र नभई राति पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सुविधायुक्त स्थल बन्नेछ । नगरप्रमुखको निर्वाचनकालीन प्रतिबद्धतालाई पूर्वाधार विकाससँग जोड्ने यो योजनाले खेलकुद, खेल पर्यटन र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनको कूटनीतिक परीक्षा
Latest NewsJust now

बालेनको कूटनीतिक परीक्षा

प्रधानमन्त्री बालेन्द्र शाहको २५ घण्टा ३५ मिनेटको भारत भ्रमण नेपालका यसअघिका परम्परागत औपचारिक कूटनीतिक भ्रमणभन्दा निकै महत्त्वपूर्ण छ। र्यापरबाट काठमाडौं महानगरपालिकाका मेयर र त्यसपछि ०८२ भदौ २३ र २४ को जेन-जी युवा विद्रोहपछिको निर्वाचनमार्फत शक्तिशाली प्रधानमन्त्री बनेका शाह परम्परागत राजनीतिक वृत्तभन्दा बाहिरबाट उदाएका लोकप्रिय नेता हुन्। उनको राजनीतिक शैलीले सबै घरेलु स्थापित अभ्यासलाई चुनौती दिँदै आएको छ। नयाँदिल्लीमा बालेनको भ्रमणप्रति चासो, कौतूहलता ...

नेपालन्युज
सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने
Latest NewsJust now

सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने

हुम्ला समाचारदाताहुम्ला, मङ्सिर ६ गते । कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्तर्गत पर्ने सलीसल्ला–खार्पु खण्ड कालोपत्रे हुने भएको छ । ३९ किलोमिटर सो क्षेत्रको सडकलाई दुई खण्डमा विभाजन... ...

गोरखापत्र
देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी
Latest NewsJust now

देउसी खेलेको रकम खानेपानीको पूर्वाधारमा लगानी

समितिले देउसी भैलोबाट जुटेको रकमले खानेपानीका पाइप तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा र पानीको मुहान खरिद गर्दै आएको हो । ...

कान्तिपुर
फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा
Latest NewsJust now

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play