सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतले आईजीपीमा मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नदिएपछि मुद्दाको अन्तिम फैसला नआएसम्म केसीले नै प्रहरी संगठनको नेतृत्व गर्ने भएका छन्। सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। सोही दिन दर्ज्यानी चिह्न लगाएपछि केसीले आईजीपीको जिम्मेवारी सम्हालेका थिए। सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कात्तिक २० गते दर्ता भएको उक्त रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भएको थियो। उक्त इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नुअघि दुवै पक्षको भनाइ सुन्नुपर्ने भन्दै मंसिर ७ गतेका लागि पेसी तोकेको थियो। तर, मंसिर ७ गते आईजीपी केसीले सर्वोच्च अदालतको आदेश प्राप्त नगरेका कारण सुनुवाइ हुन सकेको थिएन। त्यसदिन न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा मुद्दाको पेसी तोकिएको थियो। त्यसपछि दुई दिन सरेर बुधबार भएको सुनुवाइमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अब कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने विषयको अन्तिम निरूपण फैसलाबाट हुनेछ।
दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला

Read Complete Original Article
Published originally on पर्दाफास






