काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले प्रहरी नियमावलीमा आईजीपीको पदावधि चार वर्ष तोकिएको अवस्थामा सरकारले जिम्मेवारी हेरफेरका नाममा आफूलाई पदबाट हटाउन नमिल्ने जिकिर गरेका थिए। सरकारले भने कार्कीलाई पदबाट हटाइएको नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा थप जिम्मेवारी दिइएको दाबी गरेको थियो। सरकारी पक्षले आवश्यकताअनुसार सरकारले जिम्मेवारी तोक्न सक्ने तर्क गर्दै अन्तरिम आदेश जारी नगर्न माग गरेको थियो। सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाएको थियो। त्यसपछि सरकारले डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गरेको थियो।
दानबहादुर कार्कीको पुनर्बहाली मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





